बागलुङ । विद्यार्थीलाई पढाइका साथै व्यावहारिक सिप सिकाउने उद्देश्यले सिलाइ कटाई तालिम प्रदान गरिएको छ ।
बडिगाड गाउँपालिका-५ स्थित श्री भानु माध्यमिक विद्यालयका बडिगाड गाउँपालिका र वडा नं ५ को सहकार्यमा पढाइका साथै विद्यार्थीको रोजाइ अनुसारको सिपमूलक तालिम दिन थालेको हो ।
कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुलाई सिलाइ कटाई तालिम प्रदान गरिएको हो । एक महिनासम्म सञ्चालन भएको तालिमबाट विद्यार्थी राम्रोसँग कपडा सिलाउन सक्ने भएका छन् ।
सुरुवातमा कैँची समाउन र चलाउनसमेत कठिन मान्ने विद्यार्थी विस्तारै कपडा सिलाउने भएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले नयाँ विश्वलाई बताउनु भयो ।
सिपमुलक प्राविधिक शिक्षाले स्वरोजगार बन्न, आत्मनिर्भर र उद्यमी बनाउने भएकोले हाल प्राविधिक शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढेको अध्यक्ष थापाले जानकारी दिनु भयो।
सिपलाई मुख्य प्राथमिकता दिएर सञ्चालन गरिएको उक्त तालिमबाट विद्यार्थीहरुले खादा ,कुर्ता ,सुरुवल ,भोटो ब्याग ,पेटिकोट र विद्यार्थीहरुको स्कुल ड्रेस सिलाएर प्रदर्शन समेत गरेका थिए ।
विद्यार्थीहरुलाई पढाईको साथसाथै सिप पनि सिकाउने गाउँपालिकाको नमूना कार्यक्रम अन्य विद्यालयहरुमा पनि लागु गरिने र यसले निरन्तरता पाउने गाउँपालिकाले जनाएको छ ।



































































































































































































