बागलुङ । विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालन सञ्चालन गर्न सहयोग अभियान सुरु गरेको छ । शनिबार पुस्तकालयका कार्यवाहक प्रधान संरक्षक लालचन्द्र राजभण्डारीले रु.पच्चीस हजारको चेक दिएर सहयोग अभियानको शुभारम्भ गर्नु भएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने भनेर अभियान चलाइरहेको बेला विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालयको अवधारणा ल्याएकोमा धन्यवाद दिँदै यस अभियानलाई नगरपालिकाले आफ्नै अभियानको रुपमा सहकार्य र सहयोग गर्ने बताउनुभयो ।
उहाँले विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
स–साना बालबालिकादेखि किशोरकिशोरीसम्मलाई लक्षित गरी उनीहरूको रुचि र आवश्यकताअनुसार सेवा र सुविधा दिने उद्देश्यले बाल पुस्तकालय निर्माण गर्न लागिएको विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
बाल पुस्तकालयले बालबालिकालाई पुस्तकको सानिध्यमा पुर्याएर उनीहरुको प्रश्न, परिकल्पना, सृजना, रचना, जिज्ञासालाई आकार दिनुका साथै विश्व दृष्टिकोण निर्माणमा सहयोग गर्नुको साथै कुनैपनि समस्यालाई कसरी समाधान गर्ने र नयाँ आविष्कार गर्न गहिरो अध्ययन अनुसन्धानमा मद्धत गर्ने उहाँले उहाँका भनाइ छ ।
विद्यालयमा एउटा निश्चित पाठ्यक्रमभित्रका सीमित विषयहरू, सीमित समयभित्र पढाइने हुनाले बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालयले मात्र पर्याप्त योगदान पुर्याउन नसक्ने हुनाले बाल पुस्तकालयले पठन संस्कृति बढाउन, उनीहरुको रुचि, क्षमतालाई बाहिर ल्याउन, हाम्रो संस्कृति अनुसार उनीहरुको संस्कार र बानीव्यहोरा निर्माण गर्न र बालबालिकाको आवश्यकता र समस्या पहिचान गर्न सहयोग गर्ने वक्ताहरुले बताउनुभयो ।
पुस्तक र पुस्तकालयले हरेक उमेर समूहका मानिसलाई ज्ञान विज्ञानसँग जोड्न हुँदा बाल पुस्तकालयसम्म बालिबालिकाको पहुँच पुर्याउन सके देश र समाजले जवाफदेही, बौद्धिक नागरिक पाउने र हरेक क्षेत्रमा पुस्तकालयको महत्व झन बढ्ने बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले बताउनुभयो ।
आफू पुस्तकको नियमित पाठक भएको र दिमागलाई सधैँ ताजा राख्न लामो मेहनतले लेखिएका पुस्तकको नियमित अध्ययनले सहयोग गर्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।
बाल पुस्तकालयको अवधारणाको ज्यादै महत्व भएको र बालबालिकाहरुले स्वतन्त्र पूर्वक अध्ययन, छलफल र आफूलाई रुचिको विषयमा प्रयोगात्मक अभ्यास गर्ने थलोको रुपमा बाल पुस्तकालय हुनु पर्ने विद्यामन्दिर पुस्तकालयका कार्यवहाक प्रधान संरक्षक लालचन्द्र राजभण्डारीले बताउनुभयो ।
बालबालिकाका तर्फबाट बोल्दै संस्कार प्रधानले बाल पुस्तकालयले बालबालिकाको ज्ञानको दायरा बढाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालबालिकाहरुलाई पाठ्यक्रममा मात्र सीमित पार्न नहुने भन्दै अतिरिक्त ज्ञान र चिन्तनको मार्गमा उनीहरुलाई अग्रसर गराउनुपर्ने बताउनुभयो ।
बाल पुस्तकालयमा ज्ञानसामग्रीहरू, खेलौनाहरू, सूचना प्रविधिका सेवा र सुविधाहरू उपलब्ध गराउने र विभिन्न मनोरञ्जनात्मक, शैक्षिक, सिर्जनात्मक, रचनात्मक, बौद्धिक जागरणको विचार विमर्श सञ्चालन गर्न र स्थानीय संस्कार, कला र संस्कृतिका कार्यक्रमहरू उनीहरुलाई सामेल गराउने र उनीहरूको सुन्दर भविष्य निर्माण गर्न बाल पुस्तकालयले साथ दिने पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’ले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठ र कार्यवाहक प्रधान संरक्षक राजभण्डारीले पुस्तकालयको ‘ब्राण्डिङ लोगो’ सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा बाल पुस्तकालय निर्माणको लागि सहयोग गर्नु हुने चन्दादाता र कोष निर्माताहरुको नाम र रकम घोषणा गरिएको थियो । कार्यक्रममा चार वटा अक्षयकोष घोषणा गरिएको थियो ।
अक्षयकोषसहित बाल पुस्तकालयका लागि अहिलेसम्म झण्डै रु. पाँच लाख संकलन भएको पुस्तकालयले जनाएको छ । कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।



























































































































































































































