गलकोट । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक, सहकारी अभियान्ता तथा राष्ट्रिय सहकारी ट्रेनर भिमबहादुर गुरुङले सहकारीले पनि बैङ्कले जत्तिकै सेवा दिन सक्ने बताउनुभएको छ ।
गलकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका ३ को १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गुरुङले उक्त भनाई राख्नुभएको हो ।
उहाँले सहकारी भनेको कुनैपनि जातजाती, भाषा, धर्म, लिङ्ग तथा पार्टिभन्दा माथि रहेको बताउनुभएको थियो ।
गुरुङले स्थानीय स्तरमा, स्थानीय लगानी, सञ्चालक समिति, शेयर सदस्य भएको र लगानी भएको सहकारी संस्था दिगो रुपमा रहने बताउँदै सहकारीले शेयर सदस्यहरुलाई विभिन्न समयमा सम्मान तथा सहयोग गर्ने भएकोले सहकारीले सरकारले गर्न नसकेको काम गरेको बताउनुभएको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष डा टंकप्रसाद चालिसेले अध्यक्षको प्रतिवेदन, सचिव विरबहादुर बोहोरा क्षेत्रीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष वीरेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक नवराज गौतमले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सहकारीको कुल शेयर पुँजी ५ करोड ११ लाख ५२ हजार, कुल शेयर सदस्य १ हजार १ सय ८३ महिला र १ हजार ३ सय ८४ पुरुष गरी २ हजार ५ सय ७० शेयर सदस्य रहेका छन् ।
त्यस्तै सहकारीले आर्थिक वर्ष २०८०र८१ मा २ अर्व ६० करोड ३१ लाख ६२ हजार ८ सय २३ रुपैयाँको कुल कारोबार गरेको छ ।
साधारण सभाको अवसरमा उत्कृष्ट दैनिक बचतकर्ता जमुना कार्की, गणेश बुढाथोकी, खैसरा कार्की, ज्येष्ठ सदस्य बुद्धिबहादुर खड्का, कुलराज शर्मा, उत्कृष्ट बाल बचतकर्ता मानवी श्रेष्ठ, मन्जिता सुनार, उत्कृष्ट मासिक बचतकर्ता मनबहादुर अधिकारी, चन्द्रकला न्यौपाने, असल ऋणी दुर्गाबहादुर पुन, मुद्धती तर्फ हरिसिंह भण्डारी र आकृति शर्मालाई सम्मान गरिएको थियो ।
त्यस्तै गलकोट सहकारी छात्रवृत्ति कोषबाट गलकोट माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थी निस्मा नेपाली र न्यू लाईफ आवासिय माध्यमिक विद्यालबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी शंकर परियारलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
साधारण सभा संस्थाका अध्यक्ष डा टंक प्रसाद चालिसेको अध्यक्षता, उपाध्यक्ष छविलाल शर्माको स्वागत र सचिव वीरबहादुर बोहोरा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।





















































































































































































































