बागलुङ । बढ्दो बसाइँसराइका कारण विद्यार्थी संख्या घट्न थालेपछि बागलुङको जैमिनी नगरपालिकाले १० विद्यालय एक साथ स्थगन गरेको छ ।
नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने बाँकी पाँच विद्यालय आगमी शैक्षिक सत्रदेखि स्थगन गर्नेगरी समायोजन गरेको छ । पाँच विद्यालयलाई स्थगन गरेर दरबन्दी अन्यत्र पठाएकोे छ भने पाँच विद्यालयमा एकमात्रै दरबन्दी कायम गरिएको छ ।
नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिक २०८० अन्तरगत पाँच वटा तत्कालै बन्द र आगामी शैक्षिक शत्रदेखि लागु हुनेगरी पाँच वटा विद्यालय समायोजन गर्ने निर्णय गरिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।
शर्माले विद्यार्थी नभएको विद्यालयमा दरवन्दी रहने र विद्यार्थी धेरै भएको स्थानमा शिक्षक अभाव हुने अवस्थाको अन्त्य गर्नका लागि विद्यालय स्थगन र समायोजन एकैसाथ गरिएको बताउनुभयो । स्थगन र समायोजन हुँने सबै प्राथमिकत तहका विद्यालय रहेका छन् ।
चार जना भन्दा थोरै विद्यार्थी भएका पाँच प्राथमिक विद्यालय बन्द गरेर ११ दरवन्दी धेरै विद्यार्थी भएको विद्यालयमा पठाइएको शर्माको भनाई छ ।
बन्द हुने विद्यालयमा जैमिनी नगरपालिकाको जनज्योती प्रावि दमेक, जनभावना प्रावि दमेक, टारा ज्योती प्रावि छिस्ती, क्वाङ्गदी प्रावि, छिस्ती र सर्वोदय प्रावि सकुर्वा रहेका छन् ।
जसमध्ये सर्वोदय प्रावि र टारा ज्योती प्रावि छिस्तीमा विद्यार्थी संख्या शुन्य रहेको थियो । अन्य तीन विद्यालयमा विद्यार्थीको संख्या चार जना भन्दा कम भएपछि विद्यालय स्थगन गरेर दरवन्दी समायोजन गरिएको हो ।
“चार जना भन्दा थोरै विद्यार्थी भएका विद्यालय बन्द गरेर दरबन्दी विद्यार्थी भएको स्थानमा पठाएका छौं, टाढाका विद्यार्थीलाई आवसीय सुविधा सहित लिड विद्यालयको अवधारणा ल्याएका छौं” शर्माले भन्नुभयो “अब विद्यार्थीलाई आवसीय सुविधा सहित एकै स्थानमा पढाउदा शैक्षिक गुणस्तर वृद्धि हुने छ भने विद्यालयमा गर्ने लगानी खेर जादैन ।”
पाँच विद्यालय बन्द हुँदा मौजुदा हुन आउने ११ दरबन्दी नजिकैको पायक पर्ने विद्यार्थी भएको विद्यालयमा पठाइने छ ।
नगरपालिकाले शिक्षा समितिको सिफारिमा पाँच प्राथमिक विद्यालयलाई आगमी वर्ष समायोजन गर्ने गरी एक जना मात्रै दरबन्दी कायम गरिएको नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।
आचार्यले चार जनासम्म विद्यार्थी भएका पाँच विद्यालयलाई आगामी शैक्षिक सत्रमा स्थगन गरेर दरवन्दी मिलान गर्ने गरी निर्णय भएको हो । अहिले उक्त विद्यालयमा एक जनाको मात्रै दरवन्दी कायम गरी अन्य दरबन्दी विद्यार्थी भएको नजिकको विद्यालयमा पठाइएको हो ।
एक शिक्षकको मात्रै दरबन्दी कायम गरिएको विद्यालयमा जैमिनी प्रावि कुश्मिसेरा, सिद्धिगणेश प्रावि कुश्मिशेरा, एकता प्रावि पैयुथन्थाप, दिव्य ज्योती प्राथमिक विद्यालय दमेक र शंकर प्रावि राङ्खानी रहेको छ । उक्त विद्यालय आगामी शैक्षिक सत्रमा स्थगन गरी छिमेकी विद्यालयमा मौजुदा विद्यार्थी र शिक्षक दरबन्दी गाभिने छ ।
बढ्दो बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको संख्या घट्ने र नगरपालिकाको लगानी सदुपयोग नहुँने भएकाले नगरपालिकाले दुई वर्ष अघिदेखि अगुवा विद्यालय, आवासीय विद्यालय पढ्दै कमाउदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारेको हो ।
विद्यार्थी र अभिभावकालई आम्दानीसँग जोड्ने, आवासीय सहितको विद्यालय बनाउदै नगरकै शैक्षिक हब बनाउनका लागि जैमिनी नगरपालिका–५ बिनामारे स्थित सर्वोदय जनक माध्यामिक विद्यालयलाई अगुवा ९लिड० विद्यालयको रुपमा अगाढी बढाएको छ ।
विद्यालय बन्द पछि विद्यालयको पहुँच बाहिर पर्ने विद्यार्थीलाई नगरपालिकाले निःशुल्क आवासीय शिक्षा दिने तयारी नगरपालिकाको छ । लिड विद्यालयलाई सुविधा सम्पन्न गराउने र अभिभावकलाई कृषिमा लगाउने र टाढाका विद्यार्थीलाई विद्यालयमा आउन यातयातको साधनको व्यवस्था गर्ने उदेश्य गरपालिकाको छ ।



















































































































































































































