बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले एक वर्ष भित्र बचत रकम तथा जग्गा फिर्ता गर्ने शर्तमा मिलापत्र थालिएको छ ।
बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि बागलुङ जिल्ला कारागारमा रहनुभएका देव कुमार नेपाली र बचतकर्ताबीच पहिलो चरणको मिलापत्रको कार्य शुरु भएको छ ।
बचतकर्ताको रक मफिर्त गर्ने लिखित सहमतीपछि अदालतमा मिलापत्रको काम थालिएको र अहिलेसम्म ५४७ जना पीडित र देव कुमार नेपालीबीच मिला पत्र भइसकेको इमेज बचत पीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिनुभयो ।
मिलापत्र सकिएपछि जेलबाट नेपाली छुट्नेछन् भने सहमति अनुसार एक वर्ष भित्र साना बचत कर्तालाई नगद र ठूला बचतकर्तालाई कम्पनीमार्फत जग्गा उपलब्ध गराउनेछन् ।
बागलुङ र पोखरामा कार्यालय स्थापना गरी सञ्चालन गरिएको इमेज बचत तथा खोलेर सहकारी चलाएका नेपालीले पीडित बचतकर्ताको रकम फिर्ता गर्ने सहमति जनाएका छन् ।
हिलो चरणमा ढोरपाटन र गलकोट शाखाका बचतकर्ताको रकम फिर्ता गर्नेगरी मिलापत्र अनुसार ५४७ जनाको २३ करोड बचत बराबरको मिलापत्र सकिएको र दोस्रो चरणमा एक हजार १०० बचतकर्ताको एक अर्ब १५ करोड बचत रकमको सहमति गरिने कार्कीले बताउनुभयो ।
सहमति अनुसार मिला पत्र सकिएमा नेपाली जेलबाट छुट्नेछन् भने बचतकर्ताको रकम फिर्ता गर्न सहयोग गर्ने अपेक्षा राखिएको छ । अन्यत्र चेकको मुद्दा नेपालीलाई लगाउन सकिनेछ ।
बागलुङ कारागारमा रहेका नेपालीसँग गलकोट संयोजक मञ्जु चालिसे र बुर्तिवाङ संयोजक यामबहादुर कुवँरबीच मिलापत्रमा हस्ताक्षर भएको अधिवक्ता राम शर्माले जानकारी दिनुभयो ।
उनका अनुसार दुवैपक्ष सहमत भएपछि अदालतमा मिलापत्र गरिएको हो ।
एक लाखभन्दा साना बचतकर्ताले नगदै फिर्ता पाउने र त्यसमाथिका बचतकर्तालाई जग्गा व्यवस्थापन गर्ने सहमति भएको शर्माले बताउनुभयो ।
सहकारीको करीब दुई अर्ब हिनामिना गरेको प्रतिवेदन प्रहरीले तयार गरेको छ ।
नेपालीले बागलुङको सहकारीबाट १ अर्ब ३८ करोड र पोखरामा ६५ करोड रकम हिनामिना भएको भन्दै प्रहरीकहाँ उजुरी परेको थियो ।
सहकारीको रकम अपचलन गरेको दाबी सहित नेपालीसहित ११ जना विरुद्ध बागलुङ अदालतमा मुद्दा दायर गरेको थियो ।
एक हजार ५४३ जनाको उजुरीको आधारमा अनुसन्धान गरिएको हो । यहाँ ५ सय २४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् ।













































































































































































































