६ कार्तिक २०८३, बिहीबार

 

काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको पक्षमा थुनछेक बहस सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेको थुनछेक बुधबार बहस सुरु भएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी लामिछानेका तर्फबाट बहस सुरु भएको हो । लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरिरहेका छन् ।

लामिछानेका तर्फबाट पन्तपछि वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गर्नेछन् । प्रहरीले लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएसँगै बहस सुरु भएको हो ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रवि विरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरिएको छ ।

बहसपछि सरकारी वकिलले जवाफी बहस गरेपछि न्यायाधीशले लामिछानेलाई कारागार पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि बाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश गर्नेछन् ।

यसअघि कात्तिक २ देखि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछाने कास्की जिल्ला अदालतको आदेशमा पुस २५ गते ६५ लाख धरौटी तिरेर रिहा भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung