बागलुङ । बागलुङको काठेखोलागाउँपालिका–३ धम्जास्थित लक्ष्मी माध्यमिक विद्यालयले विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गरेका पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको छ ।
विद्यालयको ४४ औँ वार्षिकोत्सवको मूल समारोहका अवसरमा पाँच पूर्वविद्यार्थीलाई सम्मान गरेको हो ।
गायन कला कारिता क्षेत्रमा उदियमान पूर्वविद्यार्थी प्रकाश सपुत, पत्रकारिता र साहित्य क्षेत्रबाट दिल शिरीष, निजामति कर्मचारी क्षेत्रबाट जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिमबहादुर विक, आध्यात्मिक क्षेत्रबाट प्रदीप भण्डारी (परमेश्वर अच्युतदास), वाद्यवादन सारंगी संसारका सञ्चालक कमल कुमार विकलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द भण्डारीले बताउनुभयो ।
सम्मानित पूर्वविद्यार्थीहरुलाई गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।
कलाकार सपुत अहिलेका सर्वाधिक लोक प्रिय गायक त हुन् नै, यसका साथै चलचित्र क्षेत्रमा पनि पछिल्लो समय अत्यधिक रुचाइएका छन् ।
तीन वर्ष यता काठमाडौंलाई कर्मथलो बनाएका शिरीष बागलुङमा स्वयंम्सेवी अभियानबाट १ करोड बढीको पत्रकार महासंघ भवन निर्माणका साथै साहित्य र पत्रकारितामा पृथक पहिचान बनाएका छन् । सुरुमा अहेबबाट राष्ट्रसेवा थालेका खिमबहादुर निजामति सेवामा अनुभवी र इमान्दार कर्मचारीको छवि बनाएका छन् ।
बागलुङ मार्फत देशव्यापी हरेकृष्ण अभियान चलाइरहेका अच्युतदास इस्कोन मार्फत युवा अवस्थामै आध्यात्मिक गुरुको रुपमा स्थापित भएका छन् भने सांरगी बजाउन मात्र होइन, बनाउन पनि उत्तिकै दखल राख्ने कमलकुमार डिजिटल दुनियाँमा सारंगी संसार मार्फत मौलिक लोक संगीतलाई फराकिलो दायरामा लैजान सफल छन् ।
बिभिन्न कालखण्डमा विद्यालयमा अध्ययन गरेका विद्यार्थीले आ–आफ्नो क्षेत्रमा सफल र उदाहरणीय कार्य गरेर विद्यालय, गाउँ समाज र देशको इज्जत र गरिमा बढाएकाले सम्मानगरिएको प्रधानाध्यापक भण्डारीले बताए ।
‘विद्यालयको लामो इतिहासमा सफलपूर्व विद्यार्थीहरुलाई सम्झेर थपप्रोत्साहित गर्ने प्रयास हो, अहिले केही विधाबाट सुरुवात गरेका छौ,’ उनले भने, ‘यसलाई भोलिकादिनमापनि निरन्तरतादिने सोच र योजना छ ।’



















































































































































































































