६ कार्तिक २०८३, बिहीबार

 

सहकारी ठगी प्रकरण : म्याग्दीका जिसस प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन म्याद थप

बागलुङ । म्याग्दीको बेनी बजारमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब ४९ करोड रुपैयाँ बचत हिनामिनाको आरोपमा पक्राउ परेका म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन म्याद थप भएको छ ।

आइतबार निवासबाट पक्राउ परेका थापालाई म्याद थपका लागि प्रहरीले सरकारी वकिल कार्यालय हुँदै म्याग्दी जिल्ला अदालत पुर्‍याएको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार बिहान कुमारी बहुउद्देश्यीय सहकारीका पूर्वउपाध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालगायत पाँच जनालाई गिरफ्तार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार बेनी नगरपालिका–१ रत्नेचौरका ३६ वर्षीय राजकुमार थापा लगायत पाँच जनालाई आइतबार बिहान प्रहरीले गिरफ्तार गरेको हो ।

गिरफ्तारीमा पर्नेहरुमा रघुगंग गाउँपालिका–५ झिँका ६७ वर्षीय मनप्रसाद थजाली, अन्नपुर्ण गाउँपालिका–७ हिस्तानका ६६ वर्षीय थमबहादुर गर्बुजा, पर्वत लेखफाँटका ५३ वर्षीय रुद्रबहादुर गुरुङ र बेनी नगरापालिका–१ रत्नेचौरकी ४९ वर्षीय देवी कुमारी थापा रहनु भएको छ ।

प्रहरीका अनुसार सहकारी रजिष्टार कार्यालय पोखराको पत्र जाहेरीले थापा समेतका पाँच जनालाई गिरफ्तार गरिएको हो ।

बेनी नगरपालिका–८ स्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुको बचत रकम हिनामिना भएको सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको इन्सपेक्टर पौडेलको भनाई छ ।

जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत म्याग्दीबाट पहिलो पटकको लागि तीन दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung