७ कार्तिक २०८३, शुक्रबार

 

शिक्षा विकास प्रमुखलाई नेपाल शिक्षक महासंघको ध्यानाकर्षण पत्र

बागलुङ ।नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा सुरु भएको प्रथम चरणकोआन्दोलनको कार्यक्रम अन्तर्गत आज शिक्षा विकास तथा समन्वय इकाई बागलुङमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका उपमहासचिव पुस्कर सापकोटाले सरकारले शिक्षकसँग विसं २०७५, २०७८ र २०८० मा गरेको सहमति अनुसार हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने बताउदै सबै शिक्षकहरुलाई काठमाडौं केन्द्रित आन्दोलनका लागि तयार हुन आग्रह गर्नु भयो ।

उपमहासचिव सापकोटाले विद्यालय शिक्षा ऐनमा समावेश गरिनु पर्ने मुख्य माग वाचन गरी ध्यानकर्षणपत्र शिक्षा विकास तथा समन्व इकाई बागलुङका निमित्त प्रमुख दल बहादुर थापालाई हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका अध्यक्ष वीरबहादुर चोखाल, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकालले मन्तव्य राख्नु भएको थियोे ।

हाम्रो माग सम्बोधन हुने गरी यो हिउदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस भन्दै शिक्षकहरुले खबरदारी जुलुश सहित ध्यानाकर्षण गराएका थिए ।

उक्त अवसरमा गंगा कुमारी शर्माको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । समितिको सहसंयोजकमा वीरबहादुर चोखाल, सचिवमा मित्रदत्त ढकाल र कोषाध्यक्षमा नन्द कुमारी ठकुरी रहेका छन् । साथै सदस्यहरुमा उमाकान्त पौडेल, हरि प्रसाद पौडेल, घनश्याम रिजाल, जमुना थापा बुढाथोकी, वालकृष्ण सापकोटा, चित्रबहादुर केसी रहेका छन् ।

कार्यक्रम नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षता, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गंगा कुमारी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung