
बागलुङ । बागलुङ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि समानता अभियान नेपालसँग मंगलबार सम्झौता गरेका छन् । बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा बागलुङ नगरपालिकाले समानता अभियान नेपालसँग प्रारम्भिक सम्झौता गरेको हो ।
फोहरको बारेमा जनचेतना फैलाउन, पर्यावरणको रक्षा र कुहिने र नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वैदेशिक प्रविधि र सहयोग भित्र्याउने बागलुङ नगरपालिकाको लक्ष्य रहेको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र समानता अभियान नेपालका अध्यक्ष चन्द्रकान्त पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
माटो, हावा र पानीको रक्षाको लागि जिरो वेस्ट म्यानेजमेन्ट अन्तर्गत जनचेतना फैलाउन, प्रकृति र पर्यावरणको रक्षा र घर, अस्पताल, उद्योग, होटल, रेष्टुरेन्ट लगाएत विभिन्न क्षेत्रबाट दैनिक निस्कने फोहरको व्यवस्थापन र त्यसबाट मनग्य आम्दानी गर्ने वातावरण सृजना गर्न यो सम्झौताले पहल गर्ने बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
वन, जंगल, हावा, पानी र माटो प्रकृतिको सुन्दर उपहार भएकोले पर्यावरणको रक्षा र नगरको कमजोर फोहर व्यवस्थापनलाई वैज्ञानिक ढंगले समाधान गर्न सम्झौता भएको समानता अभियान नेपालका अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका शिक्षा समितिका सदस्य नेत्रप्रसाद न्यौपाने, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, रसियन नागरिक चाँदनी, समानता अभियानका मिडिया कोडनेटर राजन भुषाल, बागलुङ नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता र प्रशासन शाखा प्रमुख भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो । बागलुङ नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहर फाल्दै आएकोमा अहिले बानपा–१ को खुर्तुर्के भन्ने स्थानमा फोहोरको आधुनिक व्यवस्थापनको कार्य अगाडि बढाएको छ ।
यसको लागि नगरपालिकाले जिरो वेस्ट म्यानेजमेन्टका लागि प्रविधि भित्राउन र कर्मचारीलाई तालिमको लागि पहल सुरु गरेको छ ।