८ कार्तिक २०८३, शनिबार

 

एकीकृत अखिल नेपाल शिक्षक संगठनको नयाँ वर्षको शुभकामना आदानप्रदान र चियापन कार्यक्रम सम्पन्न

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले गुणस्तरीय शिक्षा र शिक्षण पेशालाई मर्यादित बनाउन नेपाल सरकारले विगतमा शिक्षकसँग गरेका सहमति कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति काठमाडौँको आयोजनामा पद्मकन्या माध्यमिक विद्यालय डिल्ली बजार काठमाडौँमा भएको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानीले उक्त भनाइ राख्नु भएको हो ।

न्यौपानेले शिक्षकले शान्तिपूर्ण र प्राज्ञिक रुपमा गरेको आन्दोलनलाई सरकारले समयमै सम्बोधन गर्नुपर्ने बताउनुभयो।

उक्त अवसरमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले शिक्षकहरूले २० दिनदेखि सडक आन्दोलनमा बसिरहेको तर सरकारले शिक्षा ऐन जारी गर्नुको को सट्टा आन्दोलनलाई विषयान्तर गर्न खोजेको बताउनुभयो ।

उहाँले नेपाल सरकारले २०७५, २०७८ र २०८० मा शिक्षकसँ भएका सहमति अनुसारको शिक्षा ऐन जारी नगरेसम्म आफूहरू आन्दोलनबाट पछि नहट्ने बताउनुभयो।

अध्यक्ष अधिकारीले आम शैक्षिक हड्ताल गरी विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीलाई काठमाडौंमा आउन आग्रह गर्नुभयो ।

उक्त अवसरमा नेपाल शिक्षक महासंघ पूर्व सह अध्यक्ष पूर्णभद्र दवाडी, एकीकृत अखि नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिव कुलप्रसाद खतिवडा, विशेष प्रदेश समिति अध्यक्ष वीरेन्द्र मल्ल, विनायक सिद्ध कलेज चाबिल काठमाडौँका क्याम्पस प्रमुख रामकृष्ण सिंहडा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा उपस्थित केन्द्रीय समितिका सदस्य समितिका पदाधिकारीहरु तथा जिल्ला अध्यक्षहरूले शिक्षक आन्दोलनलाई सशक्त अगाडि बढाउन सुझाव प्रस्तुत गरेका थिए।

उक्त अवसरमा एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौँका अध्यक्ष वसन्तराज ढकालको संयोजकत्वमा ९ सदस्य जिल्ला अध्यक्षहरूको संजाल गठन गरिएको छ।

समितिको सदस्यमा प्रविधिमैत्री विशेष प्रदेशबाट श्याम परियार (बझाङ), कोशी प्रदेशबाट देवी राई मधेस प्रदेशबाट प्रमोद सिंह (सिरहा), गण्डकी प्रदेशबाट वीरबहादुर चोखाल (बागलुङ ), लुम्बिनी प्रदेशबाट झक्कु प्रसाद खत्री (दाङ), कर्णाली प्रदेशबाट जे एड धिताल (जुम्ला ) रहनुभएको छ।

कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति काठमाडौंका अध्यक्ष वसन्तराज ढकालको अध्यक्षता, केन्द्रीय सचिवालय सदस्य भीमप्रसाद पोखरेलको स्वागत र सचिव राजेन्द्र महराको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung