
बागलुङ । बागलुङ समाज कोरियाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाले मानवसेवा आश्रम बागलुङ लाई दुई थान ह्वील चियर हस्तारन्त्रण गरेको छ ।
विश्व रेडक्रस दिवसको अवसरमा बिहिबार एक समारोहका विच आश्रमलाई ह्वील चियर सहयोग गरेको हो ।
आश्रमा आश्रय लिएका अपाङ्ग, अशक्त तथा ज्येष्ठ नागरिकको सहजताका लागि ह्वील चियर सहयोग गरेको मालिका सेवा समाजका अध्यक्ष मातृका प्रसाद आचार्यले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जगन्नाथ आचार्यले रेडक्रस मालिकाले गरेको सानो सहयोग आश्रित मानवका लागि महत्वपुर्ण बन्न सक्ने बताउनुभयो ।
मालिका उपशाखाका संस्थापक सभापति तथा मानवसेवा आश्रमका अभिभावक शिव प्रसाद सापकोटाले रेडक्रसका सिद्धान्त लाई आत्मसाथ गर्दै सदैव मानविय सेवामा समर्पित हुनुपर्ने वताउनुभयो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाका सभापति मातृका प्रसाद आचार्यको अध्यक्षता र सचिव एकप्रसद सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
साथै मानवताको पक्षमा भन्ने मुल नाराका साथ विश्व रेडक्रस दिवस बागलुङमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङ लगायत क्रियाशिल उपशाखाहरुले विभिन्न रचनात्मक तथा सन्देश मुलक कार्यक्रम गरि दिवस मनाएका हुन् ।
जिल्ला शाखा बागलुङले जुनियर युवा रेडक्रस सर्कलका युवा विद्यार्थी, शाखा तथा उपशाखाका पदाधिकारी सदस्यहरुको सहभागीतामा बागलुङ बजारमा सन्देश मुलक र्याली गरेको थियो ।
विभिन्न नारा सहित व्यानर तथा प्लेकार्ड सहित बागलुङ बजारको समिटचोकदेखि शुरु भएको र्यालीले बजार परिक्रमा गरि शाखा कार्यालय उपल्लाचौर परिषरमा पुगेर संस्थापक हेनरी ड्युनाको फोटोमा माल्यापर्ण गरि समापन गरिएको थियो ।
सो अवसरमा शाखा सभापति जगन्नाथ आचार्यले धन्यावाद मंतव्य व्यक्त गर्नु भएको उपसभापति राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।