बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि., बागलुङको आयोजना र चारतारे युवा क्लब सिवाईसी नेपालको सहकार्यमा शनिवार बागलुङ बजारमा विपद् व्यवस्थापन सिप विकास तालिम सम्पन्न भएको छ ।
विपद् आउनुअघिको पूर्वतयारी, विपद्को समयमा तत्कालीन प्रतिकार्य र विपद् पछि पुनःस्थापना प्रक्रियामा सहभागीहरूलाई सक्रिय र सक्षम बनाउने तथा विपदको समयमा तुरुन्तै आवश्यक कदम चाल्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।
तालिममा सिवाईसी साकोसद्धारा केन्द्रीय कार्यालयमा गठित विपद् व्यवस्थापन उपसमिति र सेवाकेन्द्र स्तरमा गठित विपद् व्यवस्थापन कार्यदलका १३२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विपद् व्यवस्थापनको प्रभावकारी तयारीका लागि स्थानीय तह, समुदाय र संस्थाहरूबीचको समन्वय अत्यावश्यक रहेको बताउनु भयो ।
उहाँले विपद् आउने बेलामा मात्र होइन, त्यसको पूर्वतयारी र जोखिम न्यूनीकरणमा सबैको सक्रिय भूमिका हुनु पर्ने उल्लेख गर्दै सहकारी संस्थाहरूले सामाजिक उत्तरदायित्वका रूपमा यस्ता तालिम आयोजना गर्नु सकारात्मक पहल भएको बताउनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका उपसभापति सीता शर्मा, उद्योग वाणिज्य संघ बागलुङका द्धितीय उपाध्यक्ष केशवप्रसाद वझा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
तालिममा सहभागीहरूलाई प्राथमिक उपचार, उद्धार कार्य, सुरक्षित स्थल व्यवस्थापन, जनचेतना अभिवृद्धि, र समुदायस्तरमा समन्वयात्मक कार्यको अभ्यास गराइयो ।
तालिमबाट सहकारी संस्था मातहत रहेका कार्यदलहरूलाई विपद्का सम्भावित जोखिमहरूका बारेमा सजग गराउनुका साथै व्यावहारिक समाधानका उपायहरू समेत सिकाइएको थियो ।
तालिमको सहजिकरण सशस्त्र प्रहरी वल आश्रीत गुल्मका प्रहरी नायव उपरीक्षक दिलवहादुर रायमाझि, श्री कालिजंग गण घोडाबाँधेका सहायक सेनानी खगेन्द्र चन्द, बागलुङ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद शर्माले गर्नुभएको थियो ।
कार्यक्रमका क्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाले गठन गरेको विपद् व्यवस्थापन कार्यदलको उद्देश्य, जिम्मेवारी र अधिकारबारे सहभागीहरूलाई जानकारी गराउनु भयो ।
उहाँले विपद् व्यवस्थापन कार्यदल गठन गर्नुको मुख्य उद्देश्य आपत्कालीन परिस्थितिमा तत्काल राहत, उद्धार र समन्वयको कामलाई प्रभावकारी बनाउनु रहेको बताउनु भयो ।
पौडेलले सेवा केन्द्र स्तरमै कार्यदल गठन गरी संरचनात्मक रूपमा जिम्मेवारी बाँडफाँट गरेकाले यो संरचनाले समुदायमा विपद् प्रतिकार्य क्षमतामा सुधार ल्याउने अपेक्षा राखिएको बताउनु भयो ।
कार्यक्रम सस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष सीता सापकोटाको स्वागत र सह–सचिव सुवास आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमको समापन सत्रमा विपद व्यवस्थापन उपसमितिका केन्द्रिय संयोजक भोलानाथ आचार्य, सहभागिहरुको तर्फबाट मंगल सदस्य सेवाकेन्द्रका कोषाध्यक्ष सरस्वती शर्मा र मालिका सदस्य सेवाकेन्द्रका संयोजक बलराम सापकोटाले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको समापन धन्यवाद सहित सिवाईसी नेपालका सचिव विरवहादुर किसानले गर्नुभएको थियो ।
धवलागिरी क्षेत्रका ३ जिल्लामा २५ वटा सदस्य सेवाकेन्द्र मार्फत वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गर्दै आईरहेको संस्थामा २६ हजार ८ सय सेयर सदस्य, ६ हजार ४ सउ बाल बचतकर्ता, ५ हजार ७ सय ऋणी सदस्य, ३९ करोड ४१ लाख सेयर पुँजी, १ अर्व ५५ करोड बचत, १ अर्व ३६ करोड लगानीमा वाँकी रहेको ऋण, २० करोड कोष र २ अर्व ३६ करोड कुल सम्पत्ती रहेको संस्थाले जनाएको छ ।





















































































































































































































