५ कार्तिक २०८३, बुधबार

 

ताराखोला गाउँपालिकाको नीति : आन्तरिक उत्पादन वृद्धि र निर्यातमा जोड

बागलुङ । ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।ताराखोला गाउँपालिकाको १८औँ गाउँसभामा ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले आर्थिक वर्ष २०८२ र ०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

गाउँपालिकाले उत्पादनशिल, दिगो, समावेशी रुपमा आर्थिक वृद्धि गर्न श्रम, सहकारी, कृषि, पशु, उद्यमशिलता, पर्यटन विकास, खनिज उद्योग सञ्चालन र मुख्य सडक निर्माणलाई प्रमुख प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पालिकाले गाउँपालिकामा आन्तरिक उत्पादन बढाई निर्यात वृद्धि गर्न तथा प्रर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न कृषक, कृषि समुह निजी क्षेत्र, सहकारी र समुदायको साझेदारीमा उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरी एकीकृत उत्पादन र बजारीकरणलाई जोड दिने, वितरणमुखी अनुदानलाई निरुत्साहीत गर्दै उत्पादनमा आधारीत अनुदान प्रणाली विस्तार गर्ने, पशुपन्छी उपचारमा थप जोड दिदैँ गाउँपालिका स्तरीय आधारभुत प्रयोगशाला स्थापना गरी गुणस्तरीय सेवा प्रवाह कायम गर्ने, सहकारी अनुगमनलाई प्रभावकारी बनाउने, अल्लो धागो कपडा, नेपाली हातेकागज (लोक्ता), स्लेट ढुङ्गा, जडिबुटी, ढुङ्गा, गिट्टी, काठजन्य वस्तुहरुलाई घरेलु तथा साना उद्योगको रुपमा सञ्चालन गर्ने, गाउँपालिकाको केन्द्र अर्गलदेखी शहिद तथा बेपत्ता योद्धा स्मृति पार्क हुदैँ मरजलप थामी खजुवा सिकारी, देउराली तिनचुले, गाढा पार्ने धुरी, मालारानी देउराली डुडेलेक, फागुस, लम्मुजुल्फे, पट्टीशिकारी, खिउताल, वाकसेर गुफा, गजिनी दह, घुम्टे, काक्राखोर, गाईघाट झरना, मोतिमारे, कालिलेक, शिवधुरी, झुलेनी, धम्जा देउराली, मथे देउराली, थामी पार्क गुरिल्ला पदमार्ग पर्यटकीय गुरुयोजना निर्माण गर्ने, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक पठनपाठन कार्यलाई निरन्तरता दिदैँ आधारभुत तहमा स्वेच्छिक रुपमा स्थानीय भाषाको माध्यमबाट शिक्षण कार्यको सुरुवात गरिने, शिक्षण कार्यलाई प्रभावकारी र गुणस्तरीय बनाउन शिक्षकहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम, अध्ययन, अवलोकन, भ्रमणको व्यवस्था गर्ने, सामुदायिक विद्यालयमा विद्यार्थी संङ्ख्या न्यून हुदैँ गएको र भौगोलिक रुपमा कठिनाई भएको कारण एकीकृत र गुणस्तरीय शिक्षा कायम गर्नको लागि आवासीय विद्यालय निर्माणको लागि पूर्वाधार विकास गर्नुका साथै विद्यालय बस सञ्चालन गर्ने, आधारभूत स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्न दक्ष जनशक्ति, पूर्वाधार तथा उपकरणको व्यवस्था गर्ने, ज्येष्ठ नागरीक, अशक्त तथा अपाङ्गहरुलाई घरमा नै नियमित स्वास्थ्य परीक्षण एवम् औषधी उपलब्ध गराउने व्यवस्था मिलाउने, सामुदायिक स्वास्थ्य ईकाई थप गर्दै लैजाने नीति लिएको छ ।

त्यस्तै पालिकाले युवा श्रम शक्तिलाई विकासका कार्यक्रमहरु मार्फत स्वरोजगार उन्मुख बनाउने कार्यलाई निरन्तरता दिने, गाउँपालिकाको बहुसाँस्कृतिक पहिचान र मौलिकता झल्किने साँस्कृतिक पक्षको संरक्षण र सम्बर्दनमा विशेष जोड दिने, बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिदैँ यहिँ आर्थिक वर्षमा बाल श्रम मुक्त गाउँपालिका घोषणा गर्ने, टोल विकास संस्थाहरुसंग विकास निर्माणका कार्यहरु, पर्यावरण संरक्षणका साथै फोहोरमैला व्यवस्थापन कार्यमा सहकार्य गर्ने, दलित तथा विपन्न परिवार, शहिद परिवार, घाईते तथा शारीरिक रुपमा कमजोर व्यक्तिलाई स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सहिद स्मृति विश्व श्रम रोजगार बैङ्कमा सुचिकृत गर्ने, निर्माणाधिन गलकोट, ताराखोला हुदैँ रुम म्याग्दी जोड्ने कृषि सडक र शहिद मार्ग कालोपत्रे, ढलान र स्तरोन्नती कार्यलाई निरन्तरता दिने, वडा नम्वर ३ र ५ को वडा कार्यालय, अर्गल स्वास्थ्य चौकी र नमुना विद्यालयको भवन क्रमागत रुपमा निर्माण गर्ने, खेतियोग्य जमिनमा सिचाई साझेदारी कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक वनमा पर्यापर्यटन क्रियाकलाप सञ्चालन गर्ने, प्राकृतिक स्रोतको अनाधिकृत दोहनलाई नियन्त्रण गर्ने, जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, एकिकृत विद्युतिय हाजिरी व्यवस्थापन प्रणाली लागु गर्ने, आन्तरिक राजश्वको दायरालाई वृद्धि गर्दै राजश्व संकलनलाई व्यवस्थित गर्ने, सूचनामा सञ्चार संस्थाको पहुँच बढाई पारदर्शी शासन व्यवस्था लागु गर्ने नीति लिएको छ ।

गाउँसभामा गाउँ सभा सदस्यहरु भक्तबहादुर नाईसा मगर, तारानाथ कडेँल, टेकबहादुर रोकाले नीति तथा कार्यक्रमका बारेमा सल्लाह, सुझाव तथा जिज्ञासाहरु राख्नुभएको थियो ।त्यस्तै सभामा न्यायिक समितिका सदस्य गौरीमाया गुरुङले न्यायिक समितिको प्रतिवेदन र राजश्व परामर्श समितिका सदस्य प्रेमबहादुर बुढाथोकीले राजश्व परामर्श समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung