८ कार्तिक २०८३, शनिबार

 

गुरुपूर्णिमामा ज्येष्ठ निवृत्त शिक्षक सम्मानित

गलकोट । नेपाल निवृत्त शिक्षक समाज गलकोटको आयोजनामा ज्येष्ठ निवृत्त शिक्षकलाई सम्मान गरिएको छ । गुरु पूर्णिमाको अवसरमा नेपाल निवृत्त शिक्षक समाज गलकोटको आयोजनामा ज्येष्ठ निवृत्त शिक्षक गलकोट नगरपालिका २ नरेठाँटीका नारायणदत्त रेग्मीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले शिक्षा क्षेत्रका पुराना पुस्ताले समाज परिवर्तनका लागि पुयाएको योगदानको अहिलेका युवा पुस्ताले मूल्याङ्कन गर्न छोडेको बताउनुभएको छ । उहाँले विगतमा शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरणमा निवृत्त शिक्षकले पुयाएको योगदानलाई इतिहासले कहिल्यै नभुल्ने बताउँदै योगदानको कदर गर्नु अहिलेको पुस्ताको कर्तव्य भएको बताउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा निवृत्त शिक्षक समाजले विगतदेखिनै विभिन्न सचेतना कार्यक्रम गर्दै आईरहेको र अझै यस कार्यक्रमलाई प्रभावकारी गराउनको लागि गलकोट नगरपालिकाबाट आर्थिक वर्ष २०८२-०८३ मा २ लाख ५० हजार बजेट विनियोजन भएको नेपाल निवृत्त शिक्षक समाज गलकोटका अध्यक्ष टंकबहादुर केसीले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर शिक्षा अधिकृत शिव खड्का, निवृत्त शिक्षक समाज बागलुङका जिल्ला सचिव बद्रिप्रसाद ढकाल, जिल्ला समितिका सदस्य चन्द्रदत्त रेग्मी, बमबहादुर कार्की र निवृत्त शिक्षक पूर्ण भद्र गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम नेपाल निवृत्त शिक्षक समाज गलकोटका अध्यक्ष टंकबहादुर केसीको अध्यक्षता र सचिव यज्ञप्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung