३ श्रावण २०८३, आईतवार

 

ढोरपाटन पर्यटक : एक वर्षमा ८ हजारले वृद्धि

बागलुङ । नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको संख्यामा वर्षेनी वृद्धि भइरहेको छ ।

ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा एक वर्षमै ८ हजारले वृद्धि भएको छ ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकोमा आर्थिक वर्ष २०८१/८२ मा पर्यटकको संख्या ८ हजारले बढेर २३ हजार ६९२ पुगेको छ ।

जसमध्ये सार्क नागरिक १२ जना र विदेशी नागरिक २१३ जना मात्रै रहेका छन् भने अन्य पर्यटक आन्तरिक नै हुन् ।

ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको संख्या वर्षेनी बढ्दै गएको सुवेदीको भनाई छ ।

उक्त तथ्याङ्कमा नगन्य मात्रमा विदेशीपर्यटक रहेको र अन्य सबै स्वदेशी पर्यटक रहेको बताउनुभयो ।

रेन्जर सुवेदीका अनुसार पर्यटकको संख्यामा वृद्धि भएसंगै राजश्वमा समेत वृद्धि भएको छ । ढोरपाटन पुग्ने नेपाली पर्यटकले रु।एक सय प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ ।

गत आर्थिक वर्षमा मात्रै २० लाख भन्दा बढी राजश्व पर्यटकको प्रवेशशुल्कबाट संकलन भएको छ ।

“प्रचार प्रसार, पर्यटकीय पूर्वाधार थपिनु, बुकी र जलजलाको चर्चा संगै पदयात्रा गर्न आउनु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका छन्” सुवेदीले भन्नुभयो ।

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकी पाटन र जलजला लगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन् ।

ढोरपाटन उपत्यकामा दुई दर्जन होटल तथा घरबास सञ्चालनमा रहेको र सोझै पोखरा देखि पर्यटकलाई प्याकेजमै ल्याउने लैजाने व्यवस्थापनका कारण पर्यटकलाई सहज भएको ढोरपाटन सामुदायिक घरबासका सञ्चालनक राम बहादुर घर्तीले जानकारी दिनुभयो ।

समुन्द्री सतहदेखि २ हजार ९०० मिटरको उपत्यका देखि चार हजार भन्दा माथीको बुकीपाटन सम्म पर्यटक पुग्ने थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung