बागलुङ। दरमखोला हाइड्रो इनर्जीले बिहिबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री खुलाएको छ।
कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८।३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर विक्री अनुमति पाएको छ।
कम्पनीले १ सय अंकित मूल्यमा १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित गुल्मीको मुसीकोट नगरपालिका, बागलुङको गलकोट नगरपालिका र बागलुङकै बडीगाउँ पालिकाका स्थानीयलाई आईपीओ विक्री खुलाइएको कम्पनीको सूचनमा उल्लेख छ।
सर्वसाधारणमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार १५० कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।
दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयले असार २३ सम्म आवेदन दिन सक्नेछन् भने मागअनुसार नपरे साउन ६ सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
आयोजना प्रभावित स्थानीयका लागि ग्लोबल आइएमईको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोट शाखा, प्रभु बैंक गलकोट शाखा र दरमखोला पावरहाउसबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
आयोजना प्रभावित स्थानीयले दरखास्त फारम प्राप्त गर्न २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ। कम्पनीको आईपीओ विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
क्यापिटल नेपालबाट













































































































































































































