बागलुङ । स्वास्थ्य बिमा बोर्डले बागलुङको बडिगाड आधारभूत अस्पताल सहित देशभरका विभिन्न २२ वटा स्थानीय तह र २६ वटा अस्पतालसँग स्वास्थ्य बिमा सेवा सम्झौता गरेको छ । स्वास्थ्य बिमा ऐन २०७४ ९प्रथम संशोधन २०८२० को दफा ९ को उपदफा ६ बमोजिम प्रथम सेवा विन्दु प्रयोगका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य संस्था रहने व्यवस्था गरिएको छ ।
सोही व्यवस्था अनुसार बोर्डको आह्वानमा स्थानीय तहका स्वास्थ्य संस्थाहरूसँग सम्झौता भएको हो । बागलुङ जिल्लामा यस अघि धौलागिरी अस्पताल, जैमिनी आधारभूत अस्पताल, गलकोट नगर अस्पताल र बुर्तिवाङ अस्पतालमा मात्रै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु रहेको थियो ।
बोर्डले पहिलो पटक सेवा विन्दुको रूपमा सेवा दिने गरी सम्झौता गरेको हो । स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार यसलाई कार्यान्वयनमा ल्याइएको छ ।
बोर्डका अनुसार नयाँ सम्झौतासँगै बोर्डमा प्रथम बिन्दु ४१७ र प्रेषण केन्द्र सहित जम्मा ५०२ सेवा प्रदायक स्वास्थ्य संस्था रहेका छन् । हालसम्म प्रथम सेवा बिन्दु भएका स्थानीय तहको संख्या ३७६ पुगेको छ । यसले बिमितलाई आफ्नै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार सेवा सहज रूपमा पाउने सुनिश्चित भएको बोर्डले जनाएको छ ।













































































































































































































