४ श्रावण २०८३, सोमबार

 

नयाँ विश्व सहकारी र नयाँ विश्व पत्रिकामा लक्ष्मीको पूजा

बागलुङ । बागलुङ नगरपालिका-३ किनारा टोलस्थित नयाँ विश्व बचत तथा ऋण सहकारी सस्था र नयाँ विश्व पत्रिकाको प्रकाशन संस्था नागरिक संचार प्रालिको कार्यालयमा सोमबार धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।

नयाँ विश्व बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष तथा नागरिक संचार प्रालिका संचालक मुकेशचन्द्र राजभण्डारी, सहकारीका कार्यसमिति सदस्य सुदेशचन्द्र राजभण्डारी, सेयर सदस्यहरु सुस्मिता राजभण्डारी, पवन राजभण्डारी, सरिता राजभण्डारीलगाएतले लक्ष्मी पूजा गर्नु भएको थियो । ८५ जना सेयर सदस्य रहेको सहकारीको कुल शेयर पुँजी ४० लाख ५५ हजार रहेको छ ।

विसं २०७७ पुष १० गते २५ जना शेयर सदस्यहरुको पहलमा यो सहकारी संचालनमा आएको थियो ।यस सहकारीले ४ जनालाई रोजगारी पनि दिएको छ ।

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने परम्परा अनुसार लक्ष्मी पूजा गरिएको हो ।

पैसालाई लक्ष्मीको प्रतिकको रूपमा मानिन्छ र दैनिक रूपमा लक्ष्मी आउने र जाने हुनाले लक्ष्मीलाई खुसी पार्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । पैसा, यन्त्र र तन्त्रको कारोबार हुने कार्यालयहरुमा लक्ष्मीपूजा गरिने परम्परा छ ।लक्ष्मीपूजालाई विशेष महत्त्वका साथ कार्यालय र घरघरमा पूजा गरिन्छ । लक्ष्मीपूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी कार्यालय तथा घरभरि दियो बाली मनाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung