६ कार्तिक २०८३, बिहीबार

 

विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष विजुक्छे प्रति श्रद्धाञ्जली व्यक्त

बागलुङ । विद्यामन्दिर पुस्तकालयले काठमाडौं महानगरपालिका कालिमाटी निवासी समाजसेवी, शिक्षासेवी, राजनीतिज्ञ तथा विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष टोपबहादुर विजुक्छेको स्मृतिमा विहिबार स्मृति सभा आयोजना गरिएको छ ।

१३औँ दिनको पुण्यतिथिमा पुस्तकालयका मुख्य संरक्षक तथा पूर्वअध्यक्ष परशुराम श्रेष्ठ, पूर्वअध्यक्षहरु गंगा कसजु, मोहनश्याम राजभण्डारी, श्याम प्रसाद श्रेष्ठ र राजेशचन्द्र राजभण्डारीले विजुक्छे प्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका थिए।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष डा. स्वंयम प्रकाश श्रेष्ठ र विद्यामन्दिर पुस्तकालय बागलुङका पूर्वअध्यक्ष तथा संरक्षक समितिका सचिव महेशचन्द्र प्रधानले बागलुङको सामाजिक, शैक्षिक र राजनैतिक क्षेत्रमा टोपबहादुर विजुक्छेको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । सभामा पुस्तकालयका मुख्य संरक्षक तथा पूर्वअध्यक्ष परशुराम श्रेष्ठले पुस्तकालयको शोक वक्तव्य सुनाउनु भएको थियो ।

विजुक्छेको ९३ वर्षको उमेरमा गत कार्तिक १ गते देहावसान भएको थियो ।श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरा कुमुद विजुक्छेले धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष तथा संरक्षक समितिका सचिव महेशचन्द्र प्रधानले गर्नु भएको थियो ।

विजुक्छेले विसं २०२७ सालदेखि २०२९ सालसम्म पुस्तकालयको अध्यक्षको रुपमा नेतृत्व गरेर पुस्तकालयको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।विजुक्छे २०२५ सालमा कालिका आदर्श गाउँ पञ्चायतको निर्वाचित प्रधानपञ्च पनि हुनुहुन्थ्यो ।

उहाँको नेतृत्वमा २०२८ साल मंसिर १ गते विद्यामन्दिर पुस्तकालयलाई विद्यामन्दिर माध्यमिक विद्यालयबाट शिवधारा चोकमा रहेको मुस्ताङ जाने तिर्थयात्री बस्ने ठाँटीमा सार्नुका साथै आफनो छोरा समिर विजुक्छेको स्मृतिमा पुस्तकालय पछाडिको जग्गा पनि पुस्तकालयलाई दान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung