३ श्रावण २०८३, आईतवार

 

बागलुङ र पर्वत महोत्सव जुध्दा व्यापारमा घाटा पर्ने

बागलुङ । बागलुङ र पर्वत उद्योग वाणिज्य संघबिच महोत्सव गर्ने विषयमा समन्वयको अभाव भएको छ । आपसी समझदारी हुन नसक्दा एउटै समयमा बागलुङ र पर्वत महोत्सव गर्न थालिएको छ । मौखिक सहमतिलाई उल्लघन गरेर महोत्सवको मिति तय गरिएको दुबै उद्योग वाणिज्य संघका अध्यक्षको आ–आफ्नै दावी छ ।

महोत्सव गर्ने विषयमा दुबै उद्योग वाणिज्य संघका अध्यक्षपछि हट्ने देखिदैन जसका कारण चेपुवामा यहाँका पर्यटन क्षेत्र, उद्योगी, व्यवसायी र दर्शक पर्ने देखिएको छ । महोत्सव एउटै मितिमा हुँदा दर्शक र व्यापार बाँडिदा यहाँको बजारलाई प्रत्यक्ष रुपमा प्रभावित भई व्यापार घाटा हुने देखिएको छ । जस्ले गर्दा किसानको उत्पादनलाई समेत असर पर्ने देखिन्छ ।

स्थानीय उत्पादनको प्रचार, बजारीकरण र प्रवद्र्धनको पनि लक्ष्य राखिएको महोत्सव जुध्दा स्थानीय उत्पादनलाई समेत प्रत्यक्ष असर पर्ने देखिन्छ । साथै धौलागिरि क्षेत्रको पर्यटकीय तथा धार्मिक गन्तव्यहरु अवलोकन गर्न आउने आन्तरिक पर्यटकको बसाई लम्ब्याउनु पर्ने बेला महोत्सव जुध्दा त्यस्को मारमा होटल तथा रेष्टुरेन्ट व्यवसाय पनि पर्ने देखिन्छ ।

बागलुङ उद्योग वाणिज्य संघले यही पुस ११ देखि २१ गतेसम्म सञ्चालन गर्ने बागलुङउद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले बताउनुभयो । यस्तै पर्वत उद्योग वाणिज्य संघले यही पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्ने तय भएर लोगो सर्वाजनिक भएको अध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो ।

बागलुङ उद्योग वाणिज्य संघले यस पटक महोत्सव बाङ्गेचौर खेल मैदानमा आयोजना गर्ने भएको छ । बाङ्गेचौर खेल मैदानमा हुन लागेको महोत्सवले बागलुङको व्यापारलाई कति फाइदा बेफाइदा हुने हो सरोकारवालाहरुले चासो व्यक्त गरका छन् । बाङ्गेचौरको महोत्सव अवलोकन गर्न आउने बागलुङ नगरपालिका वरपरका पालिका र बाहिरी जिल्लाबाट आउने पर्यटकहरुलाई बागलुङमा बस्ने वातावरण बनाउन थप मेहनत गर्नु पर्ने देखिन्छ ।

एक कार्यकालमा एउटा महोत्सव गर्ने नीति अनुसार यस पटक बाङ्गेचौरमा महोत्सव आयोजना हुन लागेको हो । महोत्सव गर्ने विषयमा छलफल भएको तर पुसमा बागलुङले गर्ने भएपछि पर्वतले माघमा गर्ने कुरा भएको शाक्यले बताउनुभयो । शाक्यले महोत्सव जुझ्दा दुबै उद्योग वाणिज्यसंघलाई समस्या हुने बताउनुभयो। अझैपनि समय भएको र पर्वतको महोत्सव केही पछि सार्ने विषयमा छलफल गर्ने बताउनुभयो ।

पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेलले महोत्सव पछि नसार्ने स्पष्ट पार्नुभयो । उहाँले बागलुङले महोत्सवको मिति तल माथि पार्नुपर्ने जिकिर गर्नुभयो । बागलुङले एक वर्ष छिटो महोत्सव गर्न लागेको बताउँदै पर्वत र बागलुङको महोत्सव जुध्दा समस्या हुने बताउनुभयो । कोरोना महामारीपछि लयमा आएको आर्थिक बजार जेनजी आन्दोलनपछि समस्यामा परेको छ ।

उद्योगी व्यवसायीको मनोबल खस्केको बेला आयोजकले महोत्सवलाई प्रतिष्ठाको विषयभन्दा पनि उद्योगी व्यवसायीको हित, यस क्षेत्रलाई व्यवसायी गन्तव्य बनाउन र युवाहरुलाई यस क्षेत्रमा आकर्षिक गर्न समझदारीमा महोत्सवको मिति परिर्वतन गर्न विवेक प्रयोग गरेमा धौलागिरि क्षेत्रको बजारले राहत पाउने थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung