बागलुङ । चारतारे युवा क्लब, सिवाईसी नेपालको आयोजना र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बागलुङको प्राविधिक सहयोगमा सशक्त विचार निर्माण तथा सकारात्मक सोच अभिवृद्धि सम्बन्धी एक दिने प्रशिक्षण मङ्गलबार बागलुङमा सम्पन्न भएको छ ।
प्रशिक्षणले सकारात्मक सोच, आत्म–अनुशासन, तनाव व्यवस्थापन, नेतृत्व क्षमता तथा आत्म–विश्वासजस्ता जीवन उपयोगी सीपहरू विकास गराउँदै सहभागिलाई व्यक्तिगत तथा सामाजिक जीवनलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने उद्देश्य राखेको थियो । साथै कार्यक्रमले केवल सकारात्मक सोच मात्र होइन, गहिरो, स्थायी र सशक्त विचार निर्माण गर्नुपर्ने आवश्यकतामाथि विशेष जोड दिएको थियो ।\
कार्यक्रममा चारतारे युवा क्लब, सिवाईसी नेपालका आजिवन तथा विशिष्ठ सदस्य, सिवाईसी साकोसका शेयर सदस्य, जिल्लास्थित सामुदायिक तथा बोर्डिङ विद्यालयका विद्यार्थी, सिवाईसी नेपालद्वारा सञ्चालित ‘वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम’ अन्तर्गतका समितिका प्रतिनिधि तथा बागलुङ जेसीस सहितका विभिन्न संस्थाबाट १२० जनाभन्दामा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका ब्रह्मकुमार वि।के। रमन भट्टराईले प्रशिक्षण गर्नुभएको थियो । उहाँले सकारात्मक सोचमार्फत जीवनमा आउने परिवर्तन, मनको शक्ति, आत्म–अनुशासन र तनाव व्यवस्थापनका सरल विधि तथा दैनीक जीवनमा अपनाउन सकिने व्यवहारिक उपायहरूबारे विस्तृत रूपमा प्रशिक्षण गर्नु भयो ।
मनको उर्जा सही दिशामा प्रयोग गर्न सके व्यक्तित्व, व्यवहार र लक्ष्यप्राप्ति क्षमतामा उल्लेखनीय सुधार सम्भव हुने भन्दै उहाँले सशक्त विचार निर्माण वर्तमान समयको अनिवार्य आवश्यकता भएको उल्लेख गर्नुभयो ।
त्यसै क्रममा, चारतारे युवा क्लब, सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बदलिँदो विश्व परिवेशमा केवल सकारात्मक सोचको कुरा गरेर यथास्थितिमा बसिरहन नहुने धारणा व्यक्त गर्दै अहिलेको समय सशक्त, गहिरो र उद्देश्यपूर्ण विचार निर्माणको रहेको बताउनुभयो । उहाँले सोचलाई व्यवहार र कार्य–परिवर्तनसँग जोड्न सके मात्र व्यक्तिगत तथा संस्थागत तहमा वास्तविक रूपान्तरण सम्भव हुनेमा जोड दिनुभयो ।
प्रशिक्षणका सहभागीहरूले पछिल्लो समयमा समाजमा देखिएका चुनौती, सामाजिक समस्या तथा तिनका समाधानका उपायबारे आफ्ना विचार र सुझावहरू पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रम चारतारे युवा क्लब, सिवाईसी नेपालका कार्यसमिति सदस्य सीता शर्माको स्वागत तथा कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































