बागलुङ। भारतीय राजदूतावासले बागलुङको बडिगाड गाँउपालिकाको एक विद्यालयलाई एउटा स्कुल बस र भिमगिठे स्वास्थ्यचौकीको भवन निर्माणका लागि ४ करोडबढि रकम सहयोग गरेको छ ।
नेपालका २५ विद्यालय मध्ये बडिगाड गाँउपालिका ५ को खार माविलाई एउटा बस र वडा नं ७ मा निमार्ण गरिने स्वास्थ्यचौकी भवनको लागि रु ४ करोड ७ लाख १२ हजार रकम उपलब्ध गराएको बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारी जानकारी दिनुभयो ।
एक कार्यक्रमकाबीच स्कुल बसको उद्घाटन गर्दै अधिकारीले लामो समय देखि रिक्त रहेको पालिकाको शिक्षा अधिकृतको पदमा अबको एक हप्ताभित्र गण्डकी प्रदेश सरकारबाट कर्मचारी आउने र पालिकाका शैक्षिक गतिविधीले थप तिव्रता पाउने समेत बताउनुभयो।
“स्कुल बस सञ्चालनको लागि हामिले नितिले मिल्ने सहयोग विद्यालयलाई गर्छौ ।” अधिकारीले भन्नुभयो “शिक्षा अधिकृत अबको एक हप्ताभित्र पालिका आउनुहुन्छ पालिकाका शौक्षिक गतिविधी नियमित हुन्छ । विद्यालयका गतिविधी सार्वजनिक र नियमित गर्न विद्यालयले पनि आफ्नो भुमिका निर्वाह गर्नुपर्छ।”
विद्यालयका प्रध्यानाध्यापक यज्ञदत्त घिमिरेले स्कुल बस केहिदिन पछि नियमित संचालन हुने जानकारी दिदै विशेषगरी ग्रामिण क्षेत्रका विद्यार्थीलाई स्कुल बस केन्द्रित गरिने बताउनुभयो । सोहि अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बस संचालनको लागि छुट्टै समिति बनाएको बताउँदै निम्न वर्गका विद्यार्थी अध्ययन गर्ने विद्यालयको बस नियमित सञ्चालनको लागि कोष निमार्ण गर्ने तयारी थालिएको बताउनुभयो।
यस्तै राजदूतावासबाटै बडिगाड गाँउपालिका ७ मा स्वास्थ्यचौकी भवन निमार्णको लागि ४ करोड ७ लाख १२ हजार बराबरको बजेट उपलब्ध गराउने भारतीय राजदूतावास र बडिगाड गाउँपालिकाबिच सम्झौता भएको छ । भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण कार्यक्रम अन्तर्गत गाउँपालिका ७ मा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माणका लागि सोमबार सम्झौता भएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधीकारीले जानकारी दिनुभयो ।
सम्झौता अनुसार पालिकाले सो बजेटमा पाँच प्रतिशत रकम साझेदारी गर्ने भारतीय दूतावासका काउन्सेलर अविनाशकुमार सिंहले बताउनुभयो । यसैबिच नेपाल विद्युत प्राधिकरण, बुर्तिबाङ्ग पौदी अमराई तम्घास सन्धिखर्क गोरुसिङ्गे १३२ केभि प्रसाण आयोजनाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत बडिगाडका पाँच विद्यालय सहितको क्षेत्रमा १ करोड बराबरको काम हुने भएको छ ।
बडिगाड गाँउपालिका वडा नं २ को रेमलीटोला प्रावि, वडा नं ५ को भानु मावि, खार मावि, वडा नं ६ को बुद्ध मावि, महिला समुहको भवन र मोटरबाटो तथा वडा नं ७ को भिमगिठे माविमा उक्त बजेटबाट काम हुने पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।
भने आयोजनाकै सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिका वडा नं २, ५, ६ र ७ मा पर्ने पुष्पलाल राजमार्गमा सडक बत्ति जडानको लागि २३ लाख ४४ हजार ७२० रुपैयाँ बराबरको काम हुने भएको हो ।













































































































































































































