३ श्रावण २०८३, आईतवार

 

बागलुङ महिला समाज कल्याण केन्द्रद्वारा मानवसेवा आश्रमलाई २५ हजार सहयोग

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ महिला समाज कल्याण केन्द्रले रु २५ हजार ५ सय ५५ सहयोग प्रदान गरेको छ ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन उक्त हस्तान्तरण गरेको बागलुङ महिला समाज कल्याण केन्द्रकी अध्यक्ष मिला राजभण्डारीले नयाँविश्वलाई बताइन् ।

महिला समाजले सामाजिक, शैक्षिक, मानविय, स्वास्थ्य, धार्मिकलगाएतको क्षेत्रमा नियमित रुपमा सहयोग गर्दै बागलुङ महिला समाज कल्याण केन्द्रकी सचिव निरु जोशी श्रेष्ठले बताइन् ।

बागलुङ महिला समाजले आश्रमको संस्थागत विकास र दिगो सञ्चालनको लागि भविष्यमा पनि थप सहयोग गर्ने कोषाध्यक्ष मनकामना श्रेष्ठले बताइन् ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्तिक २९ गते समापन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञबाट रु ९ करोड ६९ लाख संकलन भएको आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung