बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४औँ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
स्थापना दिवसको. उपलक्ष्यमा बागलुङ नगरपालिका-२ रुद्रेपिपलस्थित स्काउट बालबालिका केन्द्रमा रहेका २५ विद्यार्थीहरुलाई स्टेशनरी, खेलकुदका सामग्री, कार्पेट र एक दिनको दिवा खाजा उपलब्ध गराइएको थियो ।
महिला हित सहकारीले शेयर सदस्यको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउनुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय क्षेत्रमा सहयोग गर्दै आएको महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लीलादेवी खड्काले बताइन् ।
कार्यक्रम महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लीलादेवी खड्काको अध्यक्षता र सचिव सावित्री केसीको संचालनमा सम्पन्न भएको थियो ।
बागलुड नगरपालिका– ३ गुठीमा रहेको महिला हित सहकारी २०५८ सालमा महिला हित संरक्षण समूहले स्थापना गरेको थियो ।
२५ जना महिला सेयर सदस्यले २५ सयका दरले उठाएर उक्त सहकारी सुरु भएको थियो । अहिले महिला हित सहकारीका सेयर सदस्य १४ सय जना र सेयर पुँजी ३ करोड ५० लाख पुगेको छ । यो संस्थाले ७ जनालाई रोजगारी समेत दिएको छ ।















































































































































































































