४ श्रावण २०८३, सोमबार

 

मातृभूमि बहुउद्देश्यीय सहकारीको १७औँ साधारण सभा सम्पन्न, ५ प्रतिशत लाभांश वितरण

बागलुङ । मातृभूमि बहुउद्देश्यीय सहकारीको १७औँ साधारण सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मातृभूमि बहुउद्देश्यीय सहकारीका सल्लाहकार प्रा डा रामप्रसाद उपाध्यायले सहकारी संस्थाहरु आर्थिक अनुशासनमा बसेमा कुनै वित्तीय समस्या नआउने बताउनुभयो ।

आफूले कारोबार गरेको सहकारीलाई नै सबै तयारीबाट बलियो बनायो भने त्यसको लाभ सबै सेयर सदस्यले पाउने बताउनुभयो ।

कार्यक्रममा मातृभूमि बहुउद्देश्यीय सहकारीका सल्लाहकार तथा पूर्वमेयर जनक राज पौडेल, सहकारीका सल्लाहकार भवन राज बराल, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, बागलुङ कारागारका प्रशासक धिरेन्द्र राज पन्त, शेयर सदस्य माया पाण्डेले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सचिव रामप्रसाद शर्माको प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरिप्रसाद आचार्यको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक सुरेन्द्र प्रसाद आचार्यले प्रस्तुत गरेका लेखा प्रतिवेदन सभाले पारित गरेको थियो ।

सहकारीले ५ प्रतिशत लाभांश पनि वितरण गरेको छ । सभामा जेष्ठ सेयर सदस्य शोभदत्त शर्मा सापकोटा, विभिन्न परीक्षामा उत्र्तीण गरेका विद्यार्थीहरु स्वेक्षा शर्मा, सृष्टि शर्मा र सुलभ केसी, उत्कृष्ठ कारोबार गर्ने विक्रमबहादुर रुचाल, असल ऋणी मनकुमारी क्षेत्री र उत्कृष्ठ वचतकर्ता विष्णु केसीलाई सम्मान गरिएको थियो ।

सहकारीले बजार व्यवस्थापक गंगा देवी पौडेललाई पुरस्कृत गरेको थियो ।

विसं २०६५ सालमा गुणराज पौड्यालको नेतृत्वमा ६७ जना सेयर सदस्यले बागलुङ नगरपालिका-२ को धौलागिरि चोकमा स्थापना गरेको यस सहकारीको सेयर पुँजी २ करोड २५ लाख, लगानी ९ करोड ६५ लाख र तरलता २ करोड २६ लाख रहेको छ ।

सहकारीले ५ जना युवालाई रोजगारी पनि दिएको छ ।

कार्यक्रम मातृभूमि बहुउद्देश्यीय सहकारीका अध्यक्ष गुणराज पौड्यालको अध्यक्षता, उपाध्यक्ष केदारनाथ पौड्यालको स्वागत र सचिव रामप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung