३ श्रावण २०८३, आईतवार

 

सहकारीका सञ्चालकलाई दोहोरो पदमा नबस्न विभागको निर्देशन, नभए कारवाही हुने

काठमाडौं । सहकारी संस्थाका सञ्चालक अब एक अवधिमा एउटा पदमा मात्र बस्नु पर्ने भएको छ । सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकलाई एक व्यक्ति एक पटकमा एक पदमा मात्र बस्नु पर्ने निर्देशन जारी गरेको छ ।

अबदेखि सहकारीका सञ्चालक दोहोरो, तेहरो पदको जिम्मेबारी लिन नपाउने भएको छ । विभागले सोमबार निर्णय गर्दै सहकारी ऐनको व्यवस्था अनुसार एक व्यक्ति एक पटकमा एक पदमा मात्र हुनु पर्ने व्यवस्थाको कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

सहकारी ऐन, २०७४ को दफा ४१ (५) मा रहेको कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था र दफा ४४ (१) को खण्ड (ग) मा रहेको कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन नसक्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

अहिले पनि केही व्यक्तिहरु दोहोरो पदमा बसेको पाइएकोले विभागले यथाशीघ्र कानुनी प्रावधान कार्यान्वयन गर्न सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई यो निर्देशन जारी गरेको हो ।उल्लेखित कानुनी प्रावधानको पालना नभएको पाइएमा सहकारी ऐन र नियमावली अनुसार कारबाही हुने विभागले जनाएको छ ।

सहकारी विभागबाट जारी निर्देशन, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी भएको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, सहकारी संघ संस्थामा सुशासन प्रबर्द्धनको लागि जारी एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी भएको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको लागि निर्देशन तथा मापदण्ड , २०८१ को परिच्छेद ७ को कुनै पनि सदस्य एकै अवधिमा एकभन्दा बढी संस्थाको सञ्चालक वा पदाधिकारी हुन पाइने छैन भन्ने व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्न विभागले निर्देशन दिएको छ ।

यस्तो सवालमा कानून तथा नियमनकारी निकायका निर्देशनको परिपालना गर्नु स्वार्थको द्वन्दका कारणले हुनसक्ने स्रोतको दुरुपयोग रोक्नु, सञ्चालक समितिको कानून बमोजिमको वैधानिकता कायम राख्नु पर्ने सवालमा सबै सचेत र सजक हुनुपर्ने विभागले जारी गरेको निर्देशनमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung