बागलुङ । बागलुङको बरेङ गाउँपालिका वडा न २ हुग्दीशिर सुँदलामा पालिका प्रशासकीय भवनको बिहीबार शिलान्यास गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा आज शिलान्यास गर्दै २ तले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य थालेको छ ।
भवनको शिलान्यास गर्दै प्रदेश सरकारबाट निर्माणको काम जति छिटो हुन सक्यो बजेटको कुनै अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । गाउँपालिकाले कुल ४ करोड ३४ लाख ३८ हजार ४ सय ८ रुपैयाँ १४ पैसा लागतमा निर्माण हुने प्रशासकीय भवन प्रतिक्षा केएनएस जेवी सन्धीखर्क नगरपालिका वडा नं १ अर्घाखाँचीसंग सम्झौता गरेको हो ।
२ रोपनी जग्गा भित्र निर्माण हुने २ तले भवनको भुई तलामा १२ कोठा र दोस्रो तलामा हल सहित १० वटा कोठा गरि जम्मा २२ वटा कोठा सहितको भवन निर्माण हुने गाउँपालिकाका ईन्जिनियर रामकृष्ण पौडेलले जानकारी गराएका छन् ।
सानो भाडाको भवनबाट सेवा प्रवाह गर्दा समस्या भइरहेकाले अब छिट्टै नै भवन निर्माणको काम सकेर नयाँ भवनबाट सेवा प्रवाह गरिने गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताएका छन् । अध्यक्ष शर्माले तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई अनुरोध गरेका छन् ।
उनले निर्माण व्यवसायीलाई समयमा काम गर्न आग्रह गर्दै बजेट अभाव हुन नदिने समेत प्रतिवद्धता जनाएका छन् । पालिका भवन निर्माणका लागि जग्गा विवादित हुँदा भवन निर्माणमा ढिलाई हुन गएको पनि बताएका थिए । अध्यक्ष शर्माले आफ्नो दोस्रो कार्यकाल सम्म आईपुग्दा जग्गा विवादको समाधान गरि सबैको सहयोगमा भवन शिलान्यास गर्न सफल भएको बताएका छन् ।
गाउँपालिका र निर्माण कम्पनीबीच भएको सम्झौता अनुसार निर्माण व्यवसायीले २ वर्ष भित्र काम सम्पन्न गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रीनाथ पोखरेलले बताएका छन् । प्रदेश सरकारको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत बजेटमा भवन निर्माण हुनेछ ।
कार्यक्रममा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालय उपसचिव डिल्लीराम रिजाल, निर्माण कम्पनीका तर्फबाट युवराज वन्जाडे लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बद्रिनाथ पोखरेलको स्वागत र प्रशासकिय अधिकृत रामचन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
ईपरी न्यूजबाट













































































































































































































