बागलुङ । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता एवं पूर्वमन्त्री पम्फा भुसालले तोकिएकै मितिमा भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनुपर्ने बताएकी छिन् । नेपाली कम्युनिष्ट पार्टी जिल्ला समन्वय समिति बागलुङले शनिबार लोकतान्त्रिक चोकमा आयोजना गरेको एकता सन्देश सभामा उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, संविधान र लोकतन्त्रको संरक्षणका लागि निर्वाचनको विकल्प नभएको बताइन् ।
“फागुन २१ मै निर्वाचन हुनुपर्छ, संविधानलाई सही ट्रयाकमा ल्याउन र गणतन्त्रको रक्षाका लागि निर्वाचनको विकल्प छैन”, उहाँले भनिन्, “प्रतिनिधिसभाको निर्वाचनको वातावरण बन्दैछ, जेन्जी आन्दोलनपछि सरकार निर्माणका क्रममा संविधान केही मिचिएकाले त्यसलाई सच्चाउन पनि निर्वाचन अपरिहार्य छ ।” उहाँले वर्तमान सरकार आवश्यकताको सिद्धान्तका आधारमा बनेको धारणा राखिन् ।
गत भदौ २४ गतेको घटना आन्दोलन नभएर प्रतिक्रान्ति भएको बताएकी छिन् । अभिव्यक्ति स्वतन्त्रता र शासकीय अव्यवस्थविरुद्ध गत भदौ २३ को राजनैतिक आन्दोलन भएपनि देशको राष्ट्रिय सम्पत्ती र उद्योग व्यवसायको क्षेत्रमा गम्भीर क्षती पुग्ने गरी भएको भदौ २४ को घटना जेनजी पुस्ताले नगरेको भुसालले बताइन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले “देशमा वामपन्थी र देशभक्तको पक्षमा फेरि जनलहर आउन लागेको बताउनुभयो । जेनजी पुस्ताको माग र भावनाको सम्वोधन गर्न सक्ने पार्टी र नेतृत्व हामी हो” उहाँको भनाई थियो ।
सभालाई नेपाली कम्युनिष्ट पार्टीका नेताहरु दिल कुमारी पन्त, कृष्ण नेपाली, ज्ञानु आचार्य, ढाकाराम गौतमलगाएतका नेताहरुले पनि सम्वोधन गर्नु भएको थियो। सभामा कलाकार झंकार बुढाले प्रगतिशील गीतहरु प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम एकिकृत समाजवादी बागलुङका अध्यक्ष पिंगल राज गौतमको अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी बागलुङ नगर समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठको स्वागत र नेपाल कम्युनिष्ट पार्टी बागलुङका संयोजक प्रकाश घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।











































































































































































































