काठमाडौं । नवयुवाहरूको बिचमा देशैभरि विभिन्न कार्यक्रममार्फत संयोजन, क्षेत्रीय सम्मेलन र विषयकेन्द्रित अभियानहरूसहित आन्दोलन र सङ्गठन निर्माण गर्ने प्रस्ताव पारित गर्दै शनिबार नेपाल नवयुवा सम्मेलन– २०२५ सम्पन्न भएको छ।
सम्मेलनले कला, साहित्य, सङ्गीत जस्ता सांस्कृतिक विधामा र इतिहास, राजनीति, कानुन, पत्रकारिता, समाजशास्त्र, विज्ञान, दर्शनशास्त्र, प्रविधि, पर्यावरण संरक्षण जस्ता समाज विज्ञानका विविध विषयमा अलग–अलग प्रकृतिका अभियान र सम्मेलनहरू सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
विद्यमान राज्य प्रणाली बदल्नुपर्ने, शिक्षा र सार्वजनिक प्रशासनमा सुधार हुनुपर्ने, प्रविधिको क्षेत्रमा सुरक्षित र सही नीति सरकारले लिनुपर्ने र राज्यले आफ्नै डाटा सेन्टर स्थापना गर्नुपर्ने लगायतका समसामयिक निष्कर्ष पनि सम्मेलनले निकालेको छ । शनिबार काठमाडौँमा सम्पन्न सम्मेलनले अलग–अलग क्षेत्रका नागरिक आन्दोलनहरूलाई एकताबद्ध र सङ्गठित गर्न युवाहरूको नेतृत्वमा पहल गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ।
सम्मेलनले २३ र २४ भदौको जेनजी विद्रोहका सम्बन्धमा नेपाली युवाहरूले नयाँ मिडिया ९सोसल मिडिया० प्रयोग गरेर उठाएको स्वतःस्फूर्त र स्वतन्त्र आन्दोलनका रूपमा त्यसको मूल्याङ्कन र समीक्षा गरेको छ । तर, सोसल मिडियाको अल्गोरिदम, कन्ट्रोल मेकानिज्म, कन्टेन्ट क्रिएटिङ, इन्फुलिएन्सिङ जस्ता पक्षमा जेन्युइन आन्दोलनकारीहरूको योजना कति थियो भन्ने प्रश्न अनुत्तरित रहेको विषयमा पनि सम्मेलनमा छलफल भएको छ ।
तीन वटा अलगअलग सेसनमा सम्पन्न भएको सम्मेलनमा सातैवटा प्रदेशका ४० भन्दा बढी प्रतिनिधिहरू सहभागी थिए । तीन सेसनलाई क्रमशः बिराज ढुङ्गाना, आकाश महर्जन र ललित रावलले सहजीकरण गरेका थिए भने कार्यक्रमको स्वागत तथा सञ्चालन सङ्गीतकर्मी रानु कार्कीले गरेका थिए। पर्यवेक्षक बाहेक चार वटा अलगअलग समूहमा सम्मेलनको बहस सत्रहरू सञ्चालन भएका थिए ।
सामाजिक सञ्जाल फेसबुक र गुगल फर्म मार्फत फरक–फरक विषय र कार्यक्षेत्र भएका १८ देखि ३५ वर्षभित्रका नवयुवाहरूलाई सम्मेलनमा सहभागिताका लागि अपिल गरिएको थियो । सोसल मिडियाकै सूचनाबाट सम्मेलनमा सहभागी हुन आएका युवाहरूमध्ये कृषि, कानुन व्यवसाय, इन्जिनियरिङ, कलाकारिता, अध्यापन, सरकारी सेवा, प्रविधि, उद्यम गरी विविध क्षेत्रमा आबद्ध र विद्यार्थीहरु समेत थिए ।
सम्मेलनमा प्रसिद्ध साहित्यकार तथा अग्रज नागरिक आन्दोलनकर्मी खगेन्द्र सङ्ग्रौलाले शुभकामना मन्तव्य राखेका थिए । उनले समानता, स्वतन्त्रता र मित्रताको संसार चाहने विवेक नै नवयुवाहरूको परिचय बनेको चर्चा गरे। “जेनजीसँग संगत गर्नु र नवयुवा सम्मेलनमा सहभागी हुनु मेरा लागि युवाहरूसँग सिक्ने पाठशालामा सहभागी हुनु जस्तै हो,” उनले भने “नेपाली राजनीतिका पत्रुहरू, जो सत्तामा बसेर भ्रष्टाचार, नातावाद–कृपावाद गरिरहेका थिए, तिनले जेनजी विद्रोहबाट अझै पनि पाठ सिकेको देखिन्नँ । पाठ सिकेनन् भने उनीहरू फेरि अर्को आन्दोलनबाट कुटिने छन्, लखेटिने छन्।”
नवयुवा सम्मेलनलाई छिटै काठमाडौँबाहिरका विभिन्न सहरमा र प्रदेशहरूमा पनि निरन्तरता दिइने भएको छ । सम्मेलन आयोजक समितिले युवा आन्दोलनमा वैचारिक स्पष्टता निर्माण गर्दै नयाँ आन्दोलन र नयाँ सङ्गठन खडा गर्न नियमित यसप्रकारका कार्यक्रम गर्दै जाने योजना बनाएको छ।
सुसेलाले ‘कोही त भने जहाजमा हरर… हाम्रो नेपालमा’ गीतको प्रस्तुति गरेसँगै उद्घाटन भएको सम्मेलनको अन्तिम सत्र पनि सुसेलाकै साङ्गीतिक प्रस्तुतिसहित समापन भएको थियो । मल्पी इन्टरनेसनल कलेज, काठमाडौंको प्रेक्षालयमा सुसेलाका कलाकारहरूले कवि भूपी शेरचनको ‘हुँदैन बिहान मिर्मिरेमा तारा’, कवि विनोदविक्रम केसीको ‘त्यो जुत्ता साथीको’ र जोन लेननको ‘इम्याजिन’ गीत प्रस्तुत गरेका थिए ।








































































































































































































