बागलुङ । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित आठौ पर्वत महोत्सव बुधवारदेखि शुरु भएको छ । पुस १९ गतेसम्म संचालन हुने महोत्सवको गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्नुभयो।
उद्घाटनमा मन्त्री बस्यालले गण्डकी प्रदेश पर्यटनको सम्भावना र उर्वर भूमि भएको बताउनुभयो । गण्डकी प्रदेशका एघार वटै जिल्ला आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपुर्ण स्थान रहेको बताउँदै प्रदेश सरकारले यस क्षेत्रको पर्यटन विकास र प्रवद्धनमा पहिलो प्राथमिकता दिएको बताउनुभयो ।
गण्डकी प्रदेशका आर्थिक समृद्धिको पहिलो आधार नै पर्यटन व्यावसाय हो, मन्त्री बस्यालले भन्नुभयो । पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पुर्वाधारमा तीनै तहका सरकारले ध्यान दिनु आवश्यक छ । प्रदेशमा रहेका उद्योगीहरुको प्रोत्साहन र नवप्रवद्र्धनात्मक उद्यमीहरुका लागि पनि प्रदेश सरकारले विभन्न प्रोत्साहन मुलक कार्यक्रम संचालन गरिरहेको उहाँको भनाई छ।
मन्त्री बस्यालले मेला, महोत्सवहरु केबल मनोरञ्जनका लागि मात्र नभई उद्यमी र कृषकलाई प्रत्यक्ष फाईदा पुयाउने गरी केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले पोखरासँग नजिक रहेको पर्वतको पर्यटन क्षेत्रको विकाससँगै समग्र पर्वतको आर्थिक विकासमा आफुले निरन्तर प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले पर्वत जिल्लाका पुर्वाधार विकासको दृष्टिकोणले धेरै माथि पुगिसकेको बताउँदै अब जनताको आधारभुत आवश्यकता र बढ्दो युवा पलायन र स्वरोजगार सिर्जना हुने खालका कार्यक्रममा केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री पदम गिरी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवर, रेखा गुरुङ, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका उपप्रमुख शोभा क्षेत्री, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, नेपाली काँग्रेसका उपसभापति शिव सुवेदी, नेकपा एमालेका अध्यक्ष गोविन्द पहाडी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रुद्र शर्मा लामिछाने, उद्योग वाणिज्य संघका पुर्व केन्द्रीय सदस्य होमनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष तथा मुल संयोजक ठाकुर वि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव खड्गप्रसाद खनालले गर्नुभएको थियो। सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुती समेत राखिएको थियो। पहिलो दिन कलाकार सरस्वती लाछिाने, शिव शर्मा, सुजन बराईली लगायतको प्रस्तुती रहेको थियो ।
महोत्सवमा शान्ति र सद्भाव र्याली प्रदर्शन गरिएको थियो । र्यालीमा जिल्लाका एक सय भन्दा बढि संघ संस्थाले सहभागिता जनाएका थिए । महोत्सवको मख्य प्रायोजकमा कुश्मा बलेवा यान्त्रिक पुल रहेको छ । समृद्ध पर्वत, हाम्रो चाहनाु भन्ने नाराका साथ यस वर्षको महोत्सव आयोजना गरिएको छ ।
महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिईएको छ। सुन्तला, लप्सी लगायत कृषि प्रदर्शनी र विक्रिका स्टल गरी एक सय ५० भन्दा बढि स्टलहरु रहेका छन् ।
महोत्सवमा झण्डै डेढ लाख पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता, सवा दुई लाख राशीको गण्डकी प्रदेशका अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य, भजन तथा रत्यौली गीत प्रतियोगिता, टिकटक च्यालेन्ज प्रतियोगिता र सुन्तला खाने प्रतियोगिता लगायत रहेका छन् ।
दोस्रो दिनदेखि नियमित प्रतियोगिताका कार्यक्रमहरु संचालन हुने मुल संयोजक ठाकुर वि पौडेलले जानकारी दिनुभयो । महोत्सवमा एक लाख भन्दा बढि दर्शक भित्र्याउने र दुई करोड बढिको कारोबार गर्ने लक्ष रहेको छ । ११ दिनसम्म संचालन हुने महोत्सवमा फरक फरक कलाकार तथा ब्याण्डहरुको प्रस्तुती रहने भएको छ ।













































































































































































































