३ श्रावण २०८३, आईतवार

 

महिला उद्यमशीलता विकास सहकारीको २५औँ साधारणसभा सम्पन्न, महिला उद्यमी इन्द्रकुमारी श्रेष्ठ सम्मानित

बागलुङ । “सीप सिक्नु हामी महिलाको सान, सिकाउनु सहकारीको अभियान” भन्ने नारासहित महिला उद्यमशीलता विकास सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा बागलुङस्थित राधाकृष्ण सभाहलमा सम्पन्न भएको छ।

साधारणसभाको अवसरमा लामो समयदेखि उद्योग सञ्चालन गर्दै आएकी बागलुङकी महिला उद्यमी इन्द्रकुमारी श्रेष्ठलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा सहकारीका संरक्षक प्रेम छोटा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, पत्रकार कोपिला कँडेल, सहकारीका सल्लाहकार विना कार्की र कृष्णशंकर श्रेष्ठ, संस्थापक अध्यक्ष इन्द्रकुमारी श्रेष्ठ, निवर्तमान अध्यक्ष ज्योति श्रेष्ठलगायत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा सहकारीले महिला शेयर सदस्यलाई उद्यमी बनाउने उद्देश्यसहित हातहातमा सीप सिकाउने तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । वक्ताहरूले सहकारी सफल र दिगो बनाउन सबै सदस्य इमानदार हुनुपर्ने र सहकारीलाई सही ढंगले सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

सहकारीले आर्थिक वर्ष २०८१र०८२ मा ३ करोड १२ लाख ४४ हजार ३ सय ४१ रुपैयाँ ८९ पैसाको कुल कारोबार गरेको जनाएको छ। सो अवधिमा २ लाख ८९ हजार ८ सय ७८ रुपैयाँ ५६ पैसाको सञ्चालन नाफा आर्जन गरेको सहकारीले २१ हजार ७ सय ४० रुपैयाँ ८९ पैसा आयकर बुझाएपछि २ लाख ६८ हजार १ सय ३७ रुपैयाँ ६७ पैसा खुद मुनाफा गरेको आर्थिक प्रतिवेदन कोषाध्यक्ष बबिता प्रधाना वझाले प्रस्तुत गरिन्।

वि.सं.२०५७ सालमा स्थापना भएको उक्त सहकारीमा हाल २३६ जना महिला शेयर सदस्य रहेका छन् भने ८१ लाख ५७ हजार ४ सय रुपैयाँ शेयर पूँजी रहेको छ। २५औँ साधारणसभाको अवसरमा सहकारीले जेष्ठ नागरिक, असल बचतकर्ता, असल ऋणी तथा राम्रो कारोबार गर्ने शेयर सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेको थियो।

साधारणसभामा सहकारीको प्रगति प्रतिवेदन सचिव सृजना पन्त र लेखा समितिको प्रतिवेदन सुनिता शाक्यले प्रस्तुत गरेकी थिइन्। महिला उद्यमशीलता विकास सहकारी संस्थाका अध्यक्ष अर्चना पालिखेको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष पुष्पकिरण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव सृजना पन्तले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung