बागलुङ । आठौं बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकताका साथ राख्ने व्यवस्था मिलाइएको छ । पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१ रामरेखामा स्थित बाङ्गेचौर खेलमैदानमा जारी महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निःशुल्क उपलब्ध गराइएको छ ।
स्थानीय तहमा उत्पादन भएका हस्तकलादेखि कृषि उपजका सामाग्रीलाई ब्राण्डीङ गरिएको आयोजकले जनाएको छ । महोत्सवमा बिहुँको बिहुँकोट साना किसान कृषि सहकारीमार्फत प्याकेजिङ गरिएको सुन्तला, तमानखोलाको स्थानीय हस्तकलाका सामाग्री र ताराखोलाको भाँगो देखि डोका नाम्ला सम्म महोत्सवका स्टलहरुमा देख्न पाइएको छ ।
महोत्सवमा बिक्रीसंगै दर्शकको नजरमा स्थानीय उत्पादन पर्न गएमा बजारीकरणमा सघाउने भएकाले ताराखोलाका स्थानीय उत्पादनहरु डाला, नाग्ला, भागो, रातो च्याउ बिक्रीका लागि ल्याएको महिला उद्यमी गौमती घर्तीले जानकारी दिनुभयो । उहाँले ताराखोलामा ढाकाको कपडाबाट तयार गरिएको हस्तकलाका सामाग्री समेत बिक्रीका लागि ल्याइएको बताउनुभयो ।
महोत्सवमा २०० बढी व्यापारिक स्टलहरुमा बागलुङमा उत्पादित समाग्रीहरुले ‘मेड इन बागलुङ’को नामबाट छुट्टै प्राथमिकताका साथ स्टलहरु पाएको बागलुङ उद्योग वाणिज्य संघ अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिनुभयो ।
उहाँले बिहुँ र सिगानाका सुन्तला देखि बागलुङमा प्याकेजिङ गरिएको मकै देखि हस्तकलाका विभिन्न सामाग्री बिक्रीका लागि एक दर्जन स्टलहरुलाई मेड इन बागलुङका नाममा छुटट्याइएको जानकारी दिनुभयो । महोत्सवमा बागलुङमा उत्पादन भएको डाला नाङ्ला, ठेका देखि अल्लोका कपडा सम्म महोत्सव स्थलमा देख्न सकिन्छ ।
महोत्सव स्थलमा तमानखोलाको स्थानीय उत्पादनमा सबैको आँखा पुग्न थालेको छ । महोत्सवमा उनिहरुले अल्लोका कपडा, तामाका भाडाका सामाग्री, फापारको पिठो, जौको पिठो, आलु, सिमी, टिमुर, कोदोको पिठो, मकैको आटा, निगालोबाट बनेका समाग्री तथा भेडाको उन लगायतका थुप्रै घरेलु सामाग्री बिक्रीका लागि ल्याएको महिला उद्यमी जुनमाया घर्तीले बताउनुभयो ।
उहाँले व्यापारमात्रै नभएर स्थानीय उत्पादनको जानकारी दिनका लागि तमानखोला गाउँपालिकाको संयोजनमा महोत्सवमा आएर स्थानीय उत्पादनको स्टल राखिएको बताउनुभयो । स्टलमा हस्तकलाका सामाग्री, कृषिका आधुनिकदेखि परम्परागत औजार, कृषि प्रदर्शनी, सुन्तला प्रदर्शनी तथा बिक्री लगायतका स्टलहरु समेत देख्न सकिन्छ ।
बागलुङका १० वटै स्थानीय तहका उत्पादन, कृषि उपज तथा हस्तकलाका घरेलु सामाग्री बिक्री तथा प्रदर्शनीका लागि एक÷एक वटा स्टल उपलव्ध गराइएको मेलाका आयोजकले जनाएको छ । महोत्सव पुस २१ गतेसम्म चल्ने छ ।













































































































































































































