३ श्रावण २०८३, आईतवार

 

बरेङमा आदर्श सञ्चार सहकारीको साधारणसभा सम्पन्न

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १९औँ साधारणसभा बरेङ गाउँपालिका–२ घट्टमा अन्तरक्रियात्मक रुपमा सम्पन्न भएको छ ।

साधारणसभाका सहभागी सदस्यहरुले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि समुदायमा सकारात्मक धारणा विकास गर्नका लागि सदस्यहरुको सहभागिता बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहकारीहरुमा विभिन्न तरिकाले समस्या आएका छन्, कतिपय सहकारीमा सञ्चालकहरुको बदमासी, कतिपयमा कर्मचारीको लापार्वाही तथा कतिपयमा ऋण लगेका सदस्यहरुले समयमा ऋण मिलान नगरेका कारण समस्या आएको विषयमा कार्यक्रममा छलफल भएको थियो ।

साधारणसभाका सदस्यहरुले सहकारीबाट ऋण लगेर मिलान नगर्नेहरुलाई अन्तिम मौका दिने र त्यसपछि पनि भुक्तान नगरेमा कानुनी प्रक्रिया अगाडि बढाउनका लागि सुझाव दिएका छन् ।

सहकारीमा सदस्यहरुको रकम जम्मा हुन्छ, सदस्यहरुले जम्मा गरेको रकम आवश्यक परेको अर्को सदस्यलाई ऋण लगानी गरिन्छ, तर पछिल्लो समय केही ऋणी सदस्यहरुले मिनाहा हुने लगायतको बहाना गराएर ऋण नतिर्ने, ऋण तिर्न पर्दैन भनेर प्रचार गर्ने गरेको विषयमा पनि साधारणसभामा छलफल भएको थियो ।

सहकारीले सदस्यहरुलाई लगानी गर्ने ऋणको रकम अन्य सदस्यहरुले नै बचत गरेको रकम हो भन्ने कुरा बुझेर समयमा ऋण मिलान गर्न खराव ऋणीहरुलाई साधारणसभाका सहभागीहरुले आव्हान गरेका छन् ।

अन्यथा सबै सदस्यहरुको सक्रियतामा ऋण असुलीका गतिविधि सञ्चालन गर्नु पर्ने हुन सक्छ, सदस्यहरुले भनेका छन् । कार्यक्रममा संस्थाका सम्पादक राम बहादुर जिसीले सहकारीमा सदस्यको भूमिका, सञ्चालक तथा कर्मचारीको जिम्मेवारी लगायत सहकारीको संस्थागत विकास लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

साधारणसभामा सहकारीको आर्थिक र प्रगतिको यथार्थ अवस्था बारे छलफल भएको थियो । कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी ‘अञ्जु’को अध्यक्षता, आदर्श सञ्चार सहकारीको बरेङ गाउँपालिकामा सञ्चालित बरेङ सेवा केन्द्रका संयोजक जयराम शर्माको स्वागत तथा प्रवन्धक दिपकराज सापकपोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थामा उत्कृष्ट कर्जा कारोवार गर्ने विष्णु विश्वकर्मा, दीर्घकालिन बाल बचत तर्फ सञ्जु शर्मा, नियमि कारोबारतर्फ केशव प्रसाद शर्मालाई सम्मान गरिएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाको दोस्रो सेवा केन्द्र बरेङ गाउँपालिकामा ६ वर्षदेखि सञ्चालनमा रहेको छ । बरेङ गाउँपालिका भित्रका करिव ३ सय जना शेयर सदस्यका बीच संस्थाले कारोबार गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारको क्षेत्रमा धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung