बागलुङ । बचतकर्ताको रकम अपचलनमा बागलुङ कारागारमा रहेका देव कुमार नेपालीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं २ बाट उम्मेदवारका लागि दावी गरेका छन् । नेपालीले बैठक चलिरहेकै समयमा फोन गरेर आफू पनि उम्मेदवारको दावेदार रहेको बताएको बैठक स्रोतले जनाएको छ ।
नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नं २ ले शुक्रवार गलकोटमा राखेको उमेदवारहरुका आकांक्षीहरुबिचको छलफलमा इमेज सहकारीका बचतकर्ताहरुको रकम हिनामिना गरेको आरोपमा बागलुङ कारागारामा रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, विघटित प्रतिनिधिसभामा एमालेका समानुपातिक सांसद रहेका देवी प्रकाश भट्टचनसहितका १२ जनाले उमेदवारका लागि दावी गरेको एमाले स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आफु निकटका व्यक्तिहरुमार्फत भट्टचन र नेपालीले क्षेत्र नं २ को उमेदवारका लागि आफूहरुको दावी रहेको बताएका थिए । भट्टचनले अरु मार्फत नाम टिपाउनु भयो, नेपालीले बैठक चलिरहेकै समयमा फोन गरेर आफू दावेदार रहेको बताएको बैठक स्रोतले जनाएको छ ।
निवर्तमान सांसद तथा प्रभु ग्रुपका सञ्चालक भट्टचनलाई ठगी, आपराधिक विश्वासघात, नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तरगतको कसुरमा गत कात्तिक १२ गते पक्राउ गरेको थियो ।
उहाँको स्वास्थ्यमा देखिएको समस्याका कारण अदालतले बाहिरै राखेर अनुसन्धान गर्ने आदेश दिएपछि सिविआइले कात्तिक २६ गते रिहा गरेको थियो ।
उमेदवार दावी गरेका ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरुको वचत अपचलन गरेको आरोपमा हाल बागलुङ कारागारमा हुनुहुन्छ ।
भट्टचन र नेपाली सहित एमाले केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसे, प्रदेश कमिटि सदस्यहरु भीमप्रसाद शेरचन ९सुनिल०, टंक प्रसाद पौडेल र तिलक उप्रेती, पूर्वप्रदेश कमिटि सदस्य यामबहादुर श्रीस, पूर्वजिल्ला उपाध्यक्ष लक्ष्मण पुन, जिल्ला कमिटि सदस्य युवराज महत, पूर्वजिल्ला कमिटि सदस्य अमरसिंह घर्ति, बागलुङ काठमाडौं सम्पर्क मञ्चका दलबिर भण्डारी, गलकोट नगर कमिटिका उपाध्यक्ष र्इश्वर बोहोराले उमेदवारका लागि दावी गर्नु भएको छ ।
आज उमेदवार हुन चाहनेहरुकाबीच छलफल भएको हो, छलफलका क्रममा निवर्तमान सांसद भट्टचन, मेयर नेपाली सहितका नेताहरुले आफु उमेदवार बन्न चाहेको जानकारी गराउनु भएको छ, सबैको नाम टिपिएको छ, स्रोतले भन्यो, भोली शनिवार बस्ने निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नं २ को वैठकबाट सकेसम्म १ जनाको नाम पठाउने, सकिएन भने एक जना महिला सहित ३ जनाको पठाउने र त्यो पनि नसकिए चाहना व्यक्त गर्ने सबैको नाम पठाउने तयारी भएको छ ।
उमेदवारका लागि भट्टचन र नेपालीको नाम आएपछि सहभागी मध्ये केहीले उहाँहरुको बारेमा छलफल गर्न नहुने तर्क राखेका थिए । यो सबै विषयमा भोली बगिडाड गाउँपालिकामा बस्ने निर्वाचन क्षेत्रीय कमिटिको वैठकमा छलफल गरी निष्कर्ष निकाल्ने तयारी एमालेले गरेको छ ।
एमालेबाट गत निर्वाचनमा मञ्जु शर्मा चालिसे उमेदवार बन्नु भएको थियो । गठबन्धनका उमेदवार देवेन्द्र पौडेलसंग थोरै मतले पराजित भएकी चालिसेको नाम निर्वाचन क्षेत्रीय कमिटिले समानुपातिकका लागि पनि पठाएको थियो । चालिसेको नाम समानुपातिक लिष्टमा नपरेपछि प्रत्यक्षमा दावी गर्नु भएको एमालेले जनाएको छ ।













































































































































































































