बागलुङ । व्यापार बचत तथा ऋण सहकारीको संस्था लिमिटेडको १३औँ साधारणसभा बागलुङ बजारमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै व्यापार बचत तथा ऋण सहकारीका सल्लाहकार मनोविज्ञान श्रेष्ठले सहकारीलाई संस्थागत रुपमा सञ्चालन गर्नुपर्ने र सेयर सदस्यको पहुँचमा हुनुपर्ने बताउनुभयो ।
व्यवसायीहरुले आफनो विकासको लागि कठोर मेहनत गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत सेवामुलक कामहरु पनि गर्नु पर्ने उहाँको भनाई थियो । सभामा व्यापार बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष रामराज सुवेदी, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
सभाले सचिव गोकुल प्रसाद कँडेलको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रविन्द्र कुमार श्रेष्ठको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक घनश्याम शर्माको लेखा समितीको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रम उत्कृष्ठ कारोबार तर्फ सरिता पौडेल, सिता ठकुरी, मंगल सुवेदी, कक्षा १२ का उत्कृष्ठ अंक ल्याउन सफल संभव श्रेष्ठ, नियमिति चल्ती वचतकर्ता तर्फ विमल श्रेष्ठ, नियमित अवधि बचतकर्ता तर्फ घनश्याम शर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रम व्यापार बचत तथा ऋण सहकारीका अध्यक्ष ईन्द्रमणी पैडेल अर्जुनको अध्यक्षता, उपाध्यक्ष विमल श्रेष्ठको स्वागत र सचिव गोकुल प्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।
२०६९ सालमा स्थापना भएको यस सहकारीको सेयर सदस्य संख्या १ सय ६६ जना, सेयर पुँजी ५६ लाख ३९ हजार रहेको छ । बागलुङ नगरपालिका–२ धौलागिरि चोकमा कार्यालय रहेको यस सहकारीले ४ जना युवालाई रोजगारी पनि दिएको छ ।




















































































































































































































