भेनेजुएलामा अहिले जे भइरहेको छ, त्यो खासमा त्यस देशको आन्तरिक समस्या वा वैश्विक भूराजनीतिमा यसको भूमिकासँग खासै जोडिएको छैन । किनकि, भेनेजुएलाको तेल उत्पादन अहिले खासै धेरै छैन । केही वर्षदेखि यो देश ल्याटिन अमेरिकाभर एक्लिएकाले यसको प्रभाव छिमेकी देशमा खासै देखिँदैन ।
निकोलस मदुरो नेतृत्वको भेनेजुएलाली सरकार निरन्तर पतनोन्मुख थियो । मदुरोका सहयोगी देशहरू रुस र चीनले समेत भेनेजुएलालाई महत्व दिन छाडेको धेरै भएको थियो । र, भेनेजुएलाको अर्को सहयोगी देश इरान पछिल्लो समय आफैँ घरेलु समस्याले घेरिएकाले ऊ बाहिर ध्यान दिन सक्ने अवस्थामा छैन ।
निश्चित रूपमा, अमेरिकी तेल कम्पनीहरू भेनेजुएलाको विशाल तेल भण्डारको भावी उपभोगप्रति चासो दिइरहेका छन् । तर, त्यतिले मात्र अहिले त्यस देशमाथि अमेरिकाले चालेको कदमको औचित्य पुष्टि गर्दैन । त्यसमाथि ट्रम्प र उनको ‘मेक अमेरिका ग्रेट अगेन९मागा०’ नीतिले विदेशमा भन्दा अमेरिकाकै घरेलु मुद्दामा जोड दिनुपर्ने भन्छ ।
ट्रम्प आफैँले भेनेजुएलाका घटनाक्रमलाई ‘लोकतन्त्र’का लागि हो भन्ने ढोंग नगरेका यो लोकतन्त्रका लागि भन्नुपर्दैन । उसै पनि टम्प लोकतन्त्रलाई लिएर उत्साहित हुने नेता होइनन् । आखिर उनी संसारका कतिपय तानाशाहीहरूसँग उठबस गर्न पाउँदा खुसी नै देखिन्छन् । देशभित्र उनका नीति तथा कारबाहीले पनि उनले ‘लोकतन्त्र’लाई उच्चस्थान दिएको उदारण प्रस्तुत गर्दैन ।
क्युबाली क्रान्तिपछि सम्भवतः पहिलोपटक हवाना विश्वमा मित्रविहीन एकदम एक्लो उभिएको छ
भेनेजुएला प्रकरणबारे टिप्पणी गर्दा प्रायः ट्रम्पले लागु पदार्थको तस्करी र ‘नार्को–आतंकवाद’को सन्दर्भ उठाउने गर्छन् । तर, फेरि उही समयमा उनले होन्डुरसका पूर्वराष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेजलाई माफी दिएको कुराले पनि उनको ती सन्दर्भ इमानदार नरहेको बताउँछ ।
हर्नान्डेज तिनै नेता हुन् जोमाथि अमेरिकामा ४०० टनभन्दा बढी परिमाणको कोकिन ढुवानीमा प्रत्यक्ष संलग्न भएको दोषी ठहराइएका नेता हुन् । अमेरिकामा यसै वर्ष नोभेम्बरमा तल्लो सदन मध्यावधि चुनाव हँुदै छ । सो चुनाव अझै टाढै लागे पनि ट्रम्पको पार्टीले सो सभामा बहुमत गुमाउन सक्ने जोखिम छ । यस परिपे्रक्ष्यमा वर्षको सुरुमै चालिएको कदम त्यो विपत् रोक्ने दिशाको पहिलो रणनीति पनि हुन सक्छ ।
भेनेजुएलामा चालिएको कदम खासमा चेसको त्यो कदमजस्तो हो, जसको मुख्य उद्देश्य क्युबालाई ‘चेकमेट’ दिनु हो । अर्थात्, क्युबाको पहिले नै नाजुक अर्थतन्त्रलाई धराशायी बनाउने ।
क्युबाको अर्थतन्त्रलाई टिकाउन भेनेजुएलाको तेल निकै महत्वपूर्ण रहँदै आएको छ । भेनेजुएलाले क्युबालाई अत्यन्त सस्तोमा तेल मात्र बेच्दैन कतिपय अवस्थामा क्युबाली चिकित्सक र सैन्य सहयोगको बदलामा ठुलो परिणाममा तेल निःशुल्क दिने गरेको छ ।
ह्युगो चाभेजको शासनकालमा सुरु भएको यो अभ्यासलाई पछि मदुरोले निरन्तरता दिएका थिए । मियामीमा जन्मिएका क्युबाली मूलका अमेरिकी नेता मार्को रुबियोको विदेशमन्त्री चयनपछि सबै कुरा बदलियो ।
क्युबालाई ‘मुक्त गर्ने’ जीवनभरको राजनीतिक उद्देश्यलाई अहिले उनी विदेश मन्त्रालयमार्फत साकार बनाउन लागिरहेका छन् । यस्तोमा भेनेजुएलाको सत्ता परिवर्तन ट्रम्पको मूल उद्देश्य होइन, जुन उनका लागि एक सानो अस्थायी सफलता मात्र हुनेछ । क्युबाली सत्ता परिवर्तनमाथि उनको निसाना छ । यो सफलता उनका लागि तत्कालीन राजनीतिक लाभभन्दा माथि हुनेछ ।
यसबाहेक, क्युबामा शासन परिवर्तन भयो भने नोभेम्बरको मध्यावधि चुनावमा ट्रम्पले हार टार्न सक्छन् । यसले रुबियोलाई पनि सन् २०२८ को राष्ट्रपतीय चुनावमा बलियो रिपब्लिकन उम्मेदवार बनाउन सघाउनेछ ।
रिपब्लिकन उम्मेदवारमध्ये हालसम्म ट्रम्पका उपराष्ट्रपति जेडी भान्स अग्रणी स्थानमा छन् । सबैलाई थाहा भएकै कुरा हो, क्युबाको आर्थिक अवस्था अत्यन्तै नाजुक छ, जुन दिनप्रतिदिन बिग्रँदै गइरहेको छ ।
६० प्रतिशत जनसंख्या बिजुलीविना बाँच्न बाध्य छन् । क्युबाको वैदेशिक मुद्राको सञ्चितीको एक प्रमुख स्रोत पर्यटन नराम्ररी प्रभावित बनेका छ ।
भेनेजुएलाको सस्तो तेल रोकियो ९जुन अमेरिकी हस्तक्षेपअघि नै बिस्तारै घट्दै गइरहेको थियो० र पर्यटनबाट हुने आम्दानीमा समेत उल्लेख्य गिरावट भयो भने क्युबाको आर्थिक अवस्था एकदम नाजुक हुनेछ ।
क्युबाली क्रान्तिपछिको ६५ वर्षको इतिहासमा सम्भवतः पहिलोपटक क्युबा एक्लो उभिएको छ । चीन र रुसजस्ता शक्तिशाली सहयोगी न त क्युबाको प्रतिरक्षामा अगाडि बढ्न सक्षम देखिन्छन् न इच्छुक नै ।
नयाँ विश्व व्यवस्थामा रुस र चीन आफूलाई आफ्नो ‘प्रभाव क्षेत्रमा’ खेल्न दिइए ट्रम्प र रुबियोलाई तिनको प्रभाव क्षेत्रमा खेल्न दिन तयार देखिन्छन् ।
(जोसे गेब्रियल पाल्मा चिलीको स्यान्टियागो विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् । द वायरबाट)
नयाँ पत्रिकाबाट













































































































































































































