बागलुङ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारणसभा काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीको हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
लाभांश प्रयोजनका लागि छुट्याइएको करबापतको ०.६६ प्रतिशत नगद लाभांश पनि सभाले स्वीकृत गरेको छ।
सभाले चुक्तापुँजी वृद्धि गर्ने उद्देश्यले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। साथै, कम्पनीको लगानीसम्बन्धी व्यवस्थामा आवश्यक परिमार्जन गर्ने प्रस्ताव पनि अनुमोदन गरिएको छ।
नियमावली तथा प्रबन्धपत्र संशोधनका क्रममा नियमनकारी निकायबाट प्राप्त राय, सुझाव वा निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत सभाले पारित गरेको छ।
त्यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ।













































































































































































































