बागलुङ । बागलुङ नगरपालिका-१ रामरेखास्थित न्यू एभरेष्ट एकेडेमीको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाईएको छ ।
वार्षिकोत्सव अन्तर्गत विहिबार आयोजित मुलसमारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले शैक्षक गुणस्तरको हिसावले न्यू एभरेष्ट एकेडेमी जिल्लामै नमुना विद्यालयको रुपमा स्थापित भएको बताउनुभयो ।
गतसालको एसर्ईईमा यस विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको चर्चा गर्दै उहाँले , विद्यार्थीलाई व्यवहारिक र नैतिकवान बनाउनुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीलाई नैतिकवान र चरित्रवान बनाउनका लागि विद्यालयको महत्वपूर्ण हात रहने भएकोले कितावि ज्ञान मात्र नभै सामाजिक, सांस्कृतिक र नैतिक शिक्षामा पनि विद्यालयले जोड दिनुपर्ने पोखरेलले बताउनुभयो ।
पोखरेलले नेपालमा जस्तो प्रतिस्पर्धा गर्न सक्ने शिक्षा अन्य मुलुकमा नभएकोले गुणस्तरिय शिक्षाको लागि विदेशिनु नपर्ने चर्चा गर्नुभयो ।
सो अवसरमा विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल कृष्ण अधिकारीले यहाँबाट उत्पादित विद्यार्थीलाई हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनका लागि विद्यालयले सक्दो मेहेनत र परिश्रम गरिरहेको बताउनुभयो ।
विद्यालयमा हाल ४ सय ९० जना विद्यार्थी अध्यनरत रहेको अधिकारीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमले विद्यालयले गरेको मेहेनत अनुसार विद्यार्थी र अभिभावक पनि सहयोगी भएकाले विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल बनेको बताउनुभयो ।
उहाँले आगामी दिनमा विद्यालयलाई अझै व्यवस्थापनका साथ थप मजबुत बनाउनेमा जोड दिनुभयो ।
कार्यक्रममा अभिभावक कृष्णबहादुर नेपाली, विद्यार्थी अनुष्का कँडेल, आरोह पोखरेल, दिव्या गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा विद्यार्थीले आफैले तयार गरेका विभिन्न खानाका परिकार समावेस भएको चारवटा स्टल समेत राखेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरुको नृत्य, कविता र विद्यार्थीको फेसन शो लगायतका कार्यक्रम समेत प्रस्तुत भएका थिए ।
कार्यक्रम न्यू एभरेष्ट एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, शिक्षक प्रवेश मुखिया र अनुस्का कँडेलको स्वागत तथा शिक्षिका सनम खत्रीको संचालनमा सम्पन्न भएको थियो ।






















































































































































































































