बागलुङ । बागलुङ नगरपालिका–३ विएसआरमुभिरोडस्थित कालीगण्डकी आवासीय माविमा शुक्रबार पूजा–आराधना गरी भव्य रुपमा श्रीपञ्चमी मनाइएको छ ।
माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्टात्रीदेवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाईन्छ ।
कालीगण्डकी आवासीय माविका प्रिन्सिपल सुरेन्द्र शाक्यका अनुसार विद्यालयमा बिहानदेखि पूजा–आराधना गरिएको छ । देवी सरस्वतीको स्वरुपमा सजिएर विद्यार्थीले विद्यालयमा पूजाआजा गरेका थिए ।
ससाना बालबालिकाहरुले आजदेखि अक्षर आरम्भ गरेका छन् । आज ३५ जना शिशु बालबालिकाहरुले अक्षर आरम्भ गरेको विद्यालयका शिक्षक जिवन नाथ शर्माले जानकारी दिनुभयो ।
पञ्चमीबाट अक्षर आरम्भ गर्दा ज्ञान प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । देवदिनमा अक्षर लेख्न सुरु गरे आध्यात्मिक, भौतिक र सामाजिक ज्ञान प्राप्त हुने कालीगण्डकी आवासीय माविका संचालक समितिका अध्यक्ष अधिवक्ता निरन्जन राजभण्डारीले बताउनुभयो ।
पञ्चमीमा सीप सिक्ने, अक्षरारम्भ गर्ने र नाक, कान छेडाउने लगायतका कार्य गरिन्छ । यो दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेकाले अभिभावकले विद्यालय जाने उमेरका बालबालिकालाई शिक्षण संस्थामा लगेर अक्षरारम्भ गराउनुछन् ।
विद्यार्थीसहित विद्यालयका शिक्षक, अभिभावक पनि पूजामा सहभागी थिए ।















































































































































































































