२२ जेष्ठ २०८३, शुक्रबार

 

मतदाता रिझाउन घरदैलोमा हिरा केसी

बागलुङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार हिराबहादुर केसी बिहीबार बागलुङ नगरपालिका ३ का मतदातासँग भेटघाट गर्नु भएको छ ।

बागलुङ नगरपालिका ३ वडाको खोलाखेतबाट सुरु भएको अभियान चापाबोट, मुलपानी, तीनतले, तातोपानी र रातामाटासम्म पुगेको नेकपा एमाले बागलुङका जिल्ला कमिटी सदस्य बाबुलाल शाक्यले जानकारी दिनुभयो ।

उम्मेदवार केसीलाई मतदाताले फुलमालाले स्वागत गर्दै विजयको अग्रिम शुभकामना व्यक्त गरेका थिए ।

उम्मेदवार केसीले आफू नेकपा एमालेको तर्फबाट उम्मेदवार भएपनि बागलुङ जिल्लाका सम्पूर्ण जनताको प्रतिनिधि भएको बताउनु भएको थियो । फागुन २१ गते हुने निर्वाचन राजनीतिक दल बिचको प्रतिस्पर्धाभन्दा पनि देशको हारजीतसँग जोडिएको भन्दै, राष्ट्रको जितका लागि नेकपा एमालेका उम्मेदवारलाई मतप्रदान गरेर विजयी गराउँन आग्रह गर्नु भएको थियो ।

राष्ट्र र राष्ट्रियता, सुखी नेपाली सम्वृद्ध नेपालको संकल्प पुरा गर्न र एमालेका राष्ट्रवादी एजेण्डा स्थापित गराउन आफू जनताको प्रतिनिधि पात्रको रुपमा अगाडी बढेको उहाँको भनाई थियो ।

भेटघाट कार्यक्रमका अवसरमा मतदातालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मनकुमारी केसीले सत्तामा हुँदा वा नहुँदा सधैँ जनताको पक्षमा, राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएको नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हिरा केसीलाई सूर्य चिन्हमा मत प्रदान गर्न आग्रह गर्नु भएको थियो ।

मतदाताले यसअघि आफुले विश्वास गरेर चुनेर पठाएका प्रतिनिधि एकपटक पनि फर्किएर नआएको, राजनीतिक आस्थाकै कारण जनप्रतिधिले आफ्ना समुदायप्रति फरक व्यवहार गरेको भन्दै यसपटक हिराबहादुर केसीलाई आफ्नो सहयोग रहने बताएका थिए । उनीहरुले जितेर गएपछि सबै जनतालाई समान व्यहार गर्न आग्रह गरेका थिए ।

आर्दशसंचारबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung