३ श्रावण २०८३, आईतवार

 

तीनपटक म्याद थप्दा पनि अपुग भए निर्वाचन प्रहरी, म्याग्दीबाट १५४ प्रहरी थपेर बागलुङमा थालियो तालिम

बागलुङ । तीन पटक म्याद थप्दा समेत निर्वाचन प्रहरी अपुग भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले छिमेकी जिल्लाबाट जनशक्ति थपेर तालिम शुरु गरेको छ ।

बागलुङ जिल्लामा आवश्यक एक हजार २९८ निर्वाचन प्रहरीका लागि अपुग जनशक्ति म्याग्दी जिल्लाबाट ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

उहाँले अपुग जनशक्तिमध्ये १५४ जनशक्ति म्याग्दीबाट मगाएर एक हजार २४० जना निर्वाचन प्रहरीको चार स्थानमा तालिम दिन थालिएको भारतीले बताउनुभयो । तीन पटक म्याद थप्दा समेत आवश्यक निर्वाचन प्रहरी अपुग भएपछि म्याग्दीमा आवेदन बढी आएका जनशक्तिलाई बागलुङ ल्याइएको हो ।

बागलुङमा मागेको आवेदन भन्दा कम जम्मा एक हजार ८६ जनामात्रै निर्वाचन प्रहरीका लागि निवेदन परेको थियो ।अझै ५८ जना जनशक्ती अन्य जिल्लाबाट ल्याउने तयारी गरिएको भारतीले जानकारी दिनुभयो ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि बागलुङका चार ठाउँमा तालिम सुरु गरिएको छ ।

बागलुङमा १ हजार २९८ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम सुरु भएको हो । निर्वाचन प्रहरी भर्नाको लागि तीन पटकसम्म सूचना प्रकाशित गर्दा समेत माग संख्या भन्दा २१२ जना कमले आवेदन पेश गरेका थिए ।

भर्ना प्रक्रियाबाट छनोट भएका निर्वाचन प्रहरीमध्ये इलाका प्रहरी कार्यालय बरेङडाँडामा ५९ जना, बुर्तिवाङमा ३१०, गलकोटमा १८१ र अन्य बाँकी ७४८ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट तालिम दिन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung