बागलुङ । नेपाली कम्युनिष्ट पार्टी माओवादीका पोलिटव्युरो सदस्य तथा उम्मेदवार आजाद सीले बागलुङ नगरपालिका-७ ढिकीचौरका जनयुद्धमा वेपत्ता सुरेश विकको बुबा अदकमान विक र आमा मैना विकलाई भेटेर घरदैलो अभियान सुरु गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि बागलुङ–१ बाट उम्मेदवारी दिएका आजादले बागलुङ नगरपालिका-७ ढिकीचौर, हर्राचौर, कालिमाति, मालिका गाउँको वेपत्ता परिवार, शहिद परिवार, सर्वसाधारण नागरिकको घरबाट गाउँदेखि घरदैलो अभियान गरेका हुन् ।
बागलुङ-१ का सबै पालिकामा रहेका वेपत्ता, घाइते र शहिद परिवारलाई प्रत्येक्ष भेटघाट गरेर उहाँहरुको वास्तविक अवस्था बुझन्ने कार्यक्रम रहेको आजादले नयाँ विश्वलाई बताउनुभयो ।
आजादसहितको निर्वाचन परिचालन समितिका सदस्यहरुले बागलुङ नगरपालिका-६ को पंचकोट, भिरलाङखुरी, लहरेपिपल गाउँका युवा, किसान, महिला, उद्योगी, व्यवसायी, मजदुर, जेष्ठ नागरिक, विद्यार्थी, शिक्षक, कर्मचारीसँग छलफल गर्नुका साथै जनताको आवाज बनेर प्रतिनिधिसभामा छिर्नका लागि आफूले यसपटकको निर्वाचनमा होमिएको बताउनुभयो ।
उहाँले जनतासँग प्रत्यक्ष भेटघाटका लागि शनिबारबाट घरदैलो अभियान सुरु गरेका हुन् ।
भोलि बिहान बागलुङ नगरपालिका-१ को रामरेखा, बानपा-२ को आवारोड, हल्लनचोक, मिलिजुलि टोल, श्रीनगर टोल, धौलागिरि चोक, बालमन्दिर रोड र बानपा-३ को गुठी, नयाँ बजार, माझकोट, नारायण चोक, देउराली चोक, बुद्ध चोक, किनारा टोल, राधाकृष्ण टोल, लालिगुराँस चोकका स्थानीय मतदातासँग भेटघाट कार्यक्रम रहेको नेकपा माओवादीका केन्द्रीय सदस्य विकिरण सीले जानकारी दिनुभयो ।
उहाँले गाउँ शहरमा घरदैलो गरेर, कार्यकर्ता र समर्थकसँग भेटघाट गरेर जनताको स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, कृषि, सिचाई, घरेलु उद्योग, पशुपालनको बारेमा जिज्ञासा राख्नुका साथै जनताका आधारभूत आवश्यकता र समस्याका साथै वैदशिक हस्तक्षेपको विरुद्ध र समाजवाद, राष्ट्रियता र जनवादको पक्षमा जनमत फैलाउन गहिरो गरी संवाद र विमर्श गरेका थिए ।
निर्वाचन समितिका सदस्यहरु सोमबार बागलुङ नगरपालिकास्थित पार्टीका नेता, पार्टी कार्यकर्ता, समर्थक, शुभेच्छुक र सर्वसाधारण जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको नेकपा माओवादी बागलुङका सेक्रेटरी भुमिकर्ण सीले नयाँ विश्वलाई बताउनुभयो ।







































































































































































































