४ श्रावण २०८३, सोमबार

 

न्यू एभरेष्ट एकेडेमीको भ्यान दुघर्टना : अर्यालको संयोजकत्वमा छानविन समिति गठन

बागलुङ । बागलुङ नगरपालिका-१ रामरेखास्थित न्यू एभरेष्ट एकेडेमीको स्कूल भ्यान दुर्घटनाको बिषयमा छानविन गर्न जिल्लास्तरीय छानविन समिति गठन भएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयको आयोजनामा  बसेको सरोकारवालाको सर्वपक्षीय बैठकले जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विश्वबन्धु अर्यालको संयोजकत्वमा छानविन समिति गठन भएको छ ।

समितिका सदस्यहरुमा यातायात व्यवस्था कार्यालयका मेकानिकल ईञ्जिनीयर सुरेश जैशवाल, प्याव्सन र एन प्याव्सनका प्रतिनिधि दलबहादुर थापा, पीडित अभिभावकका तर्फबाट प्रिया किसान र कुशल बोहोरा, वरिष्ठ नायब निरीक्षक मिनबहादुर कुँवर, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खिमबहादुर विक रहेका छन् ।

यो समितिले दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले गठन गरिएको र पाँच दिनभित्र प्रतिवेदन बुझाउने समय रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले नयाँ विश्वलाई जानकारी दिनुभयो । हाइवेमा चल्ने स्कुल भ्यान र टेम्पोलगाएत अन्य सवारी साधनको विषयमा यातायात व्यवसायीसहित सरोकारवालाहरुको बैठक आयोजना गर्ने उहाँको भनाई थियो ।

विहिबार बागलुङ नगरपालिका–३ रात्माटामा भएको न्यू एभरेष्ट एकेडेमीको स्कूल भ्यान दुर्घटना हुँदा २५ जना विद्यार्थी, चालक र शिक्षिका घाइते भएका थिए भने एक जना विद्यार्थीको मृत्यु भएको थियो ।दुर्घटनमा घाइते मध्ये ६ जनालाई पोखरा पठाइएको थियो ।

धौलागिरी प्रादेशिक अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका चालक बिर मगरलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाको विभिन्न वडाहरुमा सिकारु, दर्ता नभएका, चालक अनुमती र विमा समेत नगरिएका विद्यार्थी र यात्रु बोक्ने सवारी साधनहरु गुडि रहेका छन् ।

ट्राफिक प्रहरी, विद्यालय संचालक, यातायात व्यवसायी, नगरपालिका र स्थानीय प्रशासनले जिवनसँग जोडिरहेको यस्तो गम्भीर विषयमा समयमै कडा कदम चाल्नु पर्ने देखिन्छ ।

विद्यालय प्रशासनले विद्यार्थी, शिक्षक, कर्मचारी र चालकको तत्काल विना गर्नुका साथै तालिम प्राप्त चालक र राम्रो कन्डिसनको विद्यार्थी बोक्ने सवारी साधन राख्नु पर्ने अभिभावकहरुले माग गरेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung