४ श्रावण २०८३, सोमबार

 

स्कूल भ्यान दुर्घटना : घाइते १८ विद्यार्थी डिस्चार्ज, ६ जना विद्यार्थीको पोखरामा उपचार हुँदै

बागलुङ । गत बिहीबार बागलुङ नगरपालिका–३ रात्माटामा भएको स्कूल भ्यान दुर्घटनाका २४ घाइतेमध्ये १८ जना विद्यार्थी उपचारपछि घर फर्केका छन् ।

बस दुर्घटनामा धौलागिरी अस्पतालमा उपचाररत सबै घाइते डिस्चार्ज भएका छन् । गत बिहीबार बागलुङ नगरपालिका–१ स्थित न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग १ च ८६२१ भ्यान दुर्घटना भएको थियो । दुर्घटनामा २ जना विद्यार्थीको मृत्युभएको छ भने छ जना मात्रै विद्यार्थी पोखरामा उपचारमा छन् ।

कक्षा ४ का सुजल छन्त्यालको उपचारको क्रममा शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । कक्षा ८ का अमन बोहोराको घटनाकै दिन धौलागिरी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संगम किसान उपचाररत छन् भने बाँकी ५ विद्यार्थी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा किरण तिवारीले जानकारी दिनुभयो ।

मणिपाल शिक्षण अस्पतालमा अनन्या किसान, आयान बोहोरा, सोलुमान रसाईली, निकित किसान र सुमन गैरेको उपचार भइरहेको हो ।

उपचारको क्रममा शनिवार निधन भएका बालक सुजल छन्त्यालको आइतवार बिहान बागलुङ नगरपालिका–१ मालढुंगामा अन्ति संस्कार गरिएको हो । दुर्घटनाकै दिन निधन भएका अमन बोहोराका परिवारका सदस्य विदेशबाट आएपछि अन्तिम संस्कार गरिनेछ ।

दुर्घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको संयोजकत्वमा समिति गठन भएको छ । घटनापछि चालक वीरबहादुर थापा प्रहरी नियन्त्रणमा छन् । प्रहरीले पनि दुर्घटना बारे थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung