बागलुङ । बागलुङ जेसीजको आयोजनामा जनतासँग प्रत्यक्ष उम्मेदवार ककस मार्फत आफ्ना कार्यक्रम तथा घोषणा सुनाएका छन् ।
मंगलबार बागलुङमा आयोजित नागरिकसँग उम्मेदवारको प्रत्यक्ष संवादमा बागलुङ क्षेत्र नम्बर एकका ८ जना उम्मेदवारले आफ्ना चुनावी एजेण्डा, विकास र कर्याक्रमका विषयमा जानकारी गराएका थिए ।
नागरिकका प्रश्नको सवालमा उम्मेदवारहरुले संसदमा गएर नीतिगत सुधार गर्ने जनाएका थिए ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर श्रीषले बागलुङको पूर्वाधार विकासमा जोड दिने बताउनुभयो । उहाँलेसुशासन कायम गर्नका लागि आफुले काम गर्ने बताउदै यहाँको विकास र समृद्धिको सहकार्य बन्न सहयोग पु¥याउने बताउनुभयो ।
नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका हिरा केसीले जनताको सेवामा ३० वर्षदेखि काम गरिरहेको बताउदै अनुमोदन हुँने अवसर नपाएको बताउनुभयो । उहाँले बागलुङको भूगोल र समस्या चिनेको नेतालाई भोट हाल्न आग्रह गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील खड्काले नीतिगत सुधार आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले पुराना दललाई पन्छाएर नयाँ दलले मात्रै सुशासन कायम गर्न सक्ने बताउनुभयो । खड्काले जेन्जीको सपना पुरा गर्न आफू उद्यमसँगै निर्वाचनमा होमिएको बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार कृष्ण अधिकारीले व्यवस्थालाई सुधार गर्दै संविधानको रक्षाका लागि आफ्नो उम्मेदवारी रहेको सुनाउनुभयो ।
राप्रपाका उम्मेदवार कल्याण आचार्यले हिन्दु धर्म र राजसंस्थाका लागि अगुवाई गर्ने धारणा व्यक्त गर्दै बहुमत आउदा हिन्दुराज्य कायम गर्ने उद्घोष गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवार टेकबहादुर केसीले आजादले जनयुद्दका लक्ष्य पूरा गर्ने काममा लाग्ने बताउनुभयो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार चित्र सापकोटाले परिवर्तनका लागि युवाहरु गोलबद्द गर्ने र विकास तथा सुशासनका क्षेत्रमा काम गर्ने बताउनुभयो ।
नेपाल मानवतावादी पार्टीका उम्मेदवार भक्तबहादुर विकले सामाजिक न्यायका लागि परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । बागलुङ जेसीजका अध्यक्ष अन्जिला श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन जेसीजकर्मी एवं पत्रकार ताराप्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो ।







































































































































































































