बागलुङ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ क्षेत्र नं।१ ले ३७ वटै वडामा एकसाथ चुनावी अभियान सुरु गरेको छ ।
सोमबार दिउँसो एक बजे यस क्षेत्रका सबै वडामा एकै पटक औपचारिक कार्यक्रमसहित चुनावी अभियान सुरु गरिएको हो ।
‘एकै दिन, एकै समय, एकै साथ चुनाव प्रचारको सन्देश फागुन चार’ भन्ने सन्देशसहित वडा तहमा औपचारिक रुपमा निर्वाचनका कार्यक्रमहरु सुरु भएको क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार दलहरुलाई फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचार प्रसारको अवधि तोकेको हुँदा सोमबार देखी वडा तहमा औपचारिक रुपमा अभियान संचालन गरिएको उहाँले बताउनुभयो ।
बागलुङ–१ का कांग्रेस उम्मेदवार भीम श्रीसलाई जिताउन संगठन परिचालन तीब्र बनाइएको पौडेलले बताउनुभयो ।क्षेत्रीय कार्यसमितिको संयोजनमा प्रत्येक वडामा एक जना प्रतिनिधि अनिवार्य रुपमा खट्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
क्षेत्रीय समितिले वडा र प्रत्यक निर्वाचन बुथमा सम्पर्क कार्यालय पनि संचालन गर्ने भएको छ ।
कार्यक्रममा चुनावी रणनीति निर्माण, मतदाता लक्षित कार्यक्रम, घरदैलो अभियानको प्रभावकारिता, संगठन सुदृढीकरण तथा बूथ व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको कांग्रेस बागलुङले जनाएको छ ।
यस क्षेत्रका ३७ वटामा ४५ जना प्रतिनिधि खटाइएको क्षेत्रीय सचिव तेजप्रसाद शर्माले जानकारी दिए । कार्यक्रममा बोल्ने नेताहरूले यसपटक कांग्रेस नयाँ सोच, नयाँ कार्यशैली र स्पष्ट विकास दृष्टिकोणसहित जनतामाझ आएको दाबी गरेका छन् ।
निर्वाचनका लागि लक्षित गरी नेतृत्व तहबाट आगामी दिनमा हरेक टोलसम्म पुग्ने गरी घरदैलो अभियान विस्तार गर्ने, युवालाई लक्षित विशेष संवाद कार्यक्रम सञ्चालन गर्ने र महिला तथा ज्येष्ठ नागरिकसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत संचालन गरिने सचिव शर्माले जानकारी दिनुभयो ।










































































































































































































