बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–१, रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी बागलुङले शिक्षक, अभिभावक र विद्यार्थीलाई मनोविमर्श कक्षासहित आफ्नो नियमित पठनपाठन सुरु गरेको छ ।
लगातार ३ दिनसम्म शिक्षक, अभिभावक र विद्यार्थीका विचमा मनोविमर्श कक्षा सञ्चालन गरेपछि आईतवारदेखि नियमित पठनपाठन सुरु गरेको हो । तीन दिनसम्म १० जना मनोविमर्शकर्ताले विधालयमा मनोविमर्श कक्षा सञ्चालन गरेर मनोबल उठाएपछि विद्यालयले नियमित पठनपाठन सुरु गरेको विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले बताए ।
बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव धन प्रसाद पोखरेलले आईतवार बिद्यालयमा पुगेर परामर्श कक्षा दिएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमले विद्यालय आफ्नो नियमित पठनपाठनसहित पुरानै अवस्थाको गतिविधीमा नयाँ किसिमले फर्केको जानकारी दिए ।
‘हामी जुट्यौं, उठ्यौं र आजबाट नियमित कर्ममा फर्कियौं’ अध्यक्ष गौतमले नियमित पठनपाठन सुरु भएको घोषणा गर्दै भने, ‘अब हामी विगतका कमजोरीबाट शिक्षा लिदै र सिक्दै नयाँ उर्जाका साथ अगाडि बढेका छौं ।’
सबै क्षेत्रको साथ, सयोग र समन्वयबाट विद्यालयमाथि आइपरेको विपतीलाई सामना गर्न सकिएको बताउदै अध्यक्ष गौतमले भने, ‘आदरणीय अभिभावकको न्यानो माया र प्रिय विद्यार्थी भाईबहिनीहरुको भविष्यप्रतिको दायित्ववोधले हामीलाई थप जिम्मेवार बनाएको छ ।
त्यहीं जिम्मेवारी पुरा गर्न हामी दृढ शक्तिका साथ उठेका छौं ।’ हाम्रो विग्रेको मनस्थिति र तनावलाई मनोविमर्शकर्ताको सहजीकरण र उहाँहरुसंग भएको अन्तरक्रियाले मानसिक स्वास्थ्य ठिक पारेका छौं, गौतमले भने ।
बागलुङ नगरपालिका र खुशी मन बागलुङको सहकार्यमा पहिलो दिन विद्यालयका शिक्षक, शिक्षिका र कर्मचारीहरुका लागि मनोबिमर्श कक्षा सञ्चालन गरिएको थियो ।
दोस्रो दिन विद्यालयका अभिभावक र शिक्षकहरुको विचमा मनोविमर्श कक्षा सञ्चालन गरिएको थियो । तेस्रो दिन कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई मनोविमर्श कक्षा सञ्चालन गरिएको प्रिन्सिपल अधिकारीले बताए ।
धौलागिरी प्रादेशिक अस्पताल बागलुङका डा। सन्दिप केसी, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र खुशी मन बागलुङका अध्यक्ष तथा मनोविमर्शकर्ता नारायण प्रसाद आचार्य, मनोविमर्शकर्ताहरु रचना आचार्य, योगराज कँडेल, शिलशिला श्रेष्ठ, ज्योति विष्ट, शान्ति शर्मा, उमा चालिसे, शारदा आचार्य र सावित्रा पौडेलले शिक्षक, अभिभावक र विद्यार्थीका विचमा सहजीकरण गरेका थिए ।
‘मनको घाउ पनि शरिरको घाउजस्ते दुख्छ, तर दुखेको कुरा भन्नका लागि मनको कुरा शेयरीङ गर्न आवश्यक छ, मनोविमर्शकर्ता नारायण प्रसाद आचार्यले भने, ‘सामान्य मानसिक समस्या जटिलतातर्फ जानुपुर्व नै मनका कुरा शेयरीङ गर्नुपर्छ ।
त्यसैले विद्यालयले दुःखद अवस्थामा मनोविमर्शकर्ता कक्षा सञ्चालन गरेर राम्रो अभ्यासको सुरुवात गरेको छ ।’ यसले आगतजन्य घट्नाले गर्दा शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीलाई सकारात्मक बुझाई गर्न मदत पुगेको छ ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले दुःखद दुर्घटनाबाट शिक्षक, अभिभावक र विद्यार्थीमा उत्पन्न भएको तनाव र मानसिक दवावलाई सबल तुल्याउन मनोविमर्श कक्षाले राम्रो काम गरेका बताए ।
हरेक ब्यक्ति मानसिक रुपमा स्वस्थ्य हुनुपर्ने उल्लेख गर्दै उपप्रमुख खड्काले मनोविमर्श कक्षाले सवैलाई सकारात्मक बाटोमा अगाडि बढ्न प्रेरणा दिने बताए । उनले हरेक विपतीमा नगरपालिका संगैसाथमा रहने बताए ।
धौलागिरी प्रादेशिक अस्पतालका डा. सन्दिप केसीले खाटा बसेको घाउलाई कोट्याउने नभएर मलम लगाएर ठिक पार्नुपर्नेमा जोड दिदै यसको लागि मनोविमर्श कक्षा अत्यन्तै सान्दर्भिक र उपयोगी भएको बताए । हरेक नागरिकको सेवामा आफुहरु सधै तयारी अवस्थामा रहने उनको भनाई थियो ।
गत माघ २९ गते नियमित पठनपाठनपश्चात् विद्यार्थीहरु घर फर्किदा सो विद्यालयको ग ३ च ८६२१ नं. को स्कुल बस बागलुङ नगरपालिका(३ हाँडेपाखामा दुर्घटना भएको थियो । स्कुल भ्यान दुर्घटनापछि विद्यालय फागुन १ गतेदेखि बन्द भएको थियो ।
त्यस दुर्घटनामा २ जना विद्यार्थीको ज्यान गएको छ । २ जनाको पोखराका अस्पतालमा उपचार भइरहेको छ । घाईते शिक्षिकासहित अरु सबै विद्यार्थी उपचारपछि घर फर्केका छन् । उपचारपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




ढोरपाटनबाट
तस्वीर : रञ्जिता शर्मा













































































































































































































