बागलुङ । झापा-५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन खर्च विवरण बुझाएका छन् ।
उनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् ।
उनले सवारी साधन, हवाई यात्रा, मतदाता प्रशिक्षणमा खाजा खर्च, वडास्तरीय प्रचार कार्यक्रममा झण्डा र ब्याचको प्रचार खर्चसहितको हिसाव बुझाएका छन् ।
उनले १५ दिनमा दुई वटा सवारी साधन भाडा इन्धनसहितमा २ लाख ९३ हजार ८ सय रुपैयाँ, पाँच पटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रमको खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ, वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार, स्टेसनरीमा २२ हजार ८२० रुपैयाँ, झण्डा र ब्याचको प्रचार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँसहित मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।
बालेनको निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षर भएको विवरणमा जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख छ ।














































































































































































































