बागलुङ । अहिले देशमा एउटै जिज्ञासा र प्रश्न उठी रहेको छ ? रास्वपाका वरिष्ठ नेता बालेनको नेतृत्वमा नयाँ सरकार कहिलेसम्म बन्छ ?
प्रत्येक्ष तर्फ सबै नतिजा आयो, समानुपातिकको अन्तिम अतिजा भोलि आउने
२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सबै नतिजा आइसके सकेको छ । निर्वाचनको कानुनी प्रकृया अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतको नयाँ सरकार चैतको दोस्रो सातासम्म बन्न सक्ने अनुमान गर्न सकिन्छ। प्रत्येक्ष तर्फ १६५ सिटमध्ये रास्वपाले १२५ सिट हात पारि सकेको छ ।
राष्ट्रपतिसमक्ष प्रतिवेदन बुर्झाएपछि नयाँ सरकार गठनको बाटो खुल्ने
साथै समानुपातिकमा ११० का लागि जारी मतगणनामा पनि रास्वपाले अत्यधिक मत पाइरहेका छ । निर्वाचन आयोगले चैत पहिलो साता प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँने कार्यतालिका रहेको छ।
आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाइसकेपछि नयाँ सरकार गठनका लागि बाटो खुल्ला हुनेछ ।
समानुपातिकतर्फको सबै नतिजा आउन र थप प्रक्रियाका लागि समय लाग्ने भएको हो ।आयोगका अनुसार समानुपातिकतर्फको गणना मंगलबारसम्म सकिने बताएको छ ।
समानुपातिकको परिणाम आएपछि सिटको बाँडफाँट र उम्मेदवार निर्वाचित गर्ने प्रक्रिया सुरु हुने
समानुपातिकको गणना सकिएलगत्तै सिटको बाँडफाँट र उम्मेदवार निर्वाचित गर्ने प्रक्रिया सुरु हुनेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार बनाउनका लागि १३८ जना सांसदको समर्थन चाहिने कानुनी व्यवस्था रहेको छ ।
निर्वाचन आयोगको कार्यतालिका र संवैधानिक प्रक्रिया अनुसार चैत १० गतेको आसपास मात्रै नयाँ प्रधानमन्त्री नियुक्त हुने छ ।
विगतको निर्वाचन अभ्यास हेर्दा मत गणना सकिएपछि आयोगले समानुपातिक सिट बाँडफाँट गर्न कम्तीमा दुई दिन लाग्ने गरेको छ । समानुपातिकतर्फ अन्तिम मतगणना प्राप्त भएपछि दलले प्राप्त गरेको सदर मत जोडेर कुल मत संख्या थाहा हुनेछ ।
फागुन २९ सम्म दलहरूले पाउने सिट संख्याको टुंगो लाग्ने
यस हिसाबले फागुन २९ सम्म दलहरूले पाउने सिट संख्याको टुंगो लाग्ने देखिन्छ ।
त्यसपछि आयोगले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने दलहरूलाई सिट संख्या र समावेशी क्लस्टर बुझाएर बन्दसूचीबाट उम्मेदवार छान्न समय दिने गरेको छ ।
६ वटा दलले मात्र तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटायो
यस पटक रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपासहित ६ वटा दलले मात्र तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएको छ ।
आयोगले दललाई समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने तोकिएको प्रतिशतअनुसार बन्दसूचीबाट नाम पठाउन पत्राचार गर्नेछ । त्यसपछि दलहरुले समावेशी समूह मिलाएर उम्मेदवार छान्न तीन दिनको समय दिने गरिन्छ ।
कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला राख्नु पर्ने संवैधानिक व्यवस्था
प्रत्येक राजनीतिक दलबाट संघीय संसद्मामा निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला राख्नु पर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय सभामा प्रतिनिधित्व रहेका दलले प्रत्यक्ष निर्वाचित भएकाबाट एक तिहाइ महिलाको संख्या अपुग भएको खण्डमा समानुपातिकमा प्राप्त गरेको सिटबाट पुर्याउनुपर्ने प्रावधान रहेको छ ।
आयोगले निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै रास्वपाको नयाँ सरकार गठन तथा निर्वाचित सांसदको शपथलगायतको संवैधानिक प्रक्रिया सुरु हुन्छ ।
साथै बहुमत प्राप्त वा ठूला दलले संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुसार आफ्नो संसदीय दलको नेता चुन्नुपर्ने छ, दलको यो आन्तरिक प्रक्रिया समाप्त भएपछि मात्रै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रकृया अगाडि बढाउने छ ।
संसदीय दलका नेता प्रधानमन्त्री हुने संवैधानिक प्रावधान
बहुमत प्राप्त दलका संसदीय दलका नेता प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था रहेको छ ।
निर्वाचनबाट स्पष्ट बहुमत पाएको रास्वपालाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(१) बमोजिम सरकार गठनका लागि आह्वान गर्नेछन् ।
आयोग र दलहरुभित्रका कानुनी र संवैधानिक प्रक्रियाहरू पूरा गरी संभवत चैतको दोस्रो सातासम्म मुलुकले नयाँ सरकार पाउनेछ ।
यस पटक चुनावी नतिजाले रास्वपालाई बहुमतको एकलौटी सरकार बनाउन सक्नेगरी मत दिएको छ ।













































































































































































































